काठमाडौं– सरकारले जाजरकोट भूकम्पबाट निजी घर क्षतिग्रस्त भएका प्रभावितका लागि आवश्यक अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्नेसक्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्माण कार्यमा खटाउने निर्णय गरेको हो।
अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराइ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सैनिक तथा प्रहरीहरूलाई निर्माण कार्यमा खटाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘भूकम्प प्रभावित जिल्लामा यसरी खटाउन पर्याप्त सैनिक तथा प्रहरी उपलब्ध नभएमा भूकम्प प्रभावित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भए बमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल त्यस्तो जनशक्ति उपलब्ध गराउने,’ बिहीबार सार्वजनिक मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।