झापा- राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाएका छन्। राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उनकी कान्छी छोरी अवज्ञा पौडेलले बुधबार झापास्थित निवासमा पुगेर हस्तान्तरण गरे।
राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको , ‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटकपटक सहभागी भएर जेलनेल र यातना भोग्नुभएका पूर्णनन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो। लोकतन्त्रप्रति समर्पित पूर्णानन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महसुस गरेको छु।’
राष्ट्रपति पौडेलले पञ्चायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालीन अवस्थामा दमक हाइस्कुलका प्रधानाध्यापक रहेका शर्माले गरेको सहयोगको स्मरण पनि गरेका छन्।
झापाको कमल गाउँपालिका-६ मा स्थायी रूपमा बस्दै आएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो। प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा उनी पक्राउ परेर ५ वर्षभन्दा बढी जेलमा बसेका थिए। शर्माले पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक बन्दी जीवन बिताएकाक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।