काठमाडौं– अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन्।
दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो।
ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा हर्कुलस र अस्मिताले दर्शक नचाउने भएका हुन् । अक्टोबर २१ बाट सुरु हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुनेछ।
लिभ एट प्रिजेन्टले आयोजना गरेको कार्यक्रमको नाम फर्स्ट यु.एस.ए म्युजिकल यात्रा राखिएको छ। कार्यक्रममा फुजोन इन्टरनेशनल , कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य रहेको छ।
कार्यक्रमको लागि आफूहरू निकै उत्साहित रहेको हर्कुलस र अस्मिताले बताएका छन्। अमेरिकामा रहेका नेपाली दाजु भाइ र दिदी बहिनीसँग यस पटकको दसैँ सङ्गीतमय रहने भएकाले पनि आफूहरू एकदमै उत्साहित रहेको उनीहरूको भनाइ छ।
हर्कुलसका 'के यो माया हो' , 'माया संसार' , 'हिजो भन्दा आज' लगायत गीतहरू चर्चित छन्।
यसै गरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन्। युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्मिताले चलचित्र पार्श्व गायनमा पनि आफूलाई स्थापित गरिरहेकी छन्।
उनको पछिल्ला गीतहरू 'परेली झिम झिम भो' , 'काले केटाले' चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।