काठमाडौं– म्युजिक भिडिओलाई चलचित्रको परिभाषामा समेटी चलचित्र विकास बोर्डलाई यस क्षेत्रको अभिभावक बन्न नेपाल म्युजिक भिडिओ निर्देशक समाजले ध्यानाकर्षण गराएको छ।
सोमबार समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, सह सचिव समन अधिकारी, कोषाध्यक्ष बबिता श्रेष्ठ, सदस्यहरू दयाराम घिमिरे, देवेन्द्र कुँवर र देवराज आचार्य, म्युजिक भिडियो निर्देशकहरू प्रकाश भट्ट र आदित्य बुढाथोकी, कलाकार रामेश्वर बुर्लाकोटी, सङ्गीत व्यवसायी राजेन्द्र पुरी लगायत बोर्डमा पुगेका कार्यसमिति सदस्यहरूले अध्यक्ष भुवन केसीलाई म्युजिक भिडियोको क्षेत्रलाई बोर्ड अन्तर्गत राख्न अनुरोध गर्दै ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन्।
चलचित्र विकास बोर्डले समेट्ने क्षेत्रको परिभाषामा चल्ने चित्रलाई 'चलचित्र' भनिएको तर निर्माण हुने प्रक्रिया, विधि, प्रविधि, प्रयोग तथा कलाकार, प्राविधिक, निर्देशक लगायतका विषयहरू म्युजिक भिडिओमा पनि एकै किसिमको रूपमा प्रयोग हुने भएता पनि म्युजिक भिडिओलाई चलचित्रको परिभाषाको प्रक्रियामा नराखेकोमा दु:खी रहेको पत्रमा उल्लेख छ।
म्युजिक भिडियो मार्फत देशका विभिन्न जातजाति, भाषा, कला संस्कृतिको जगेर्ना गर्दै राज्यको अर्थतन्त्र, पर्यटन, रोजगारी लगायतमा यस क्षेत्रले मद्दत पुर्याएको तथ्य राज्यसामु हुँदाहुँदै पनि म्युजिक भिडियोलाई चलचित्रको परिभाषाको रूपमा समावेश नगरिनु र औपचारिकतामा प्रवेश नगराउनु आफैमा पक्षपाती विषय भएकोले ध्यानाकर्षण गराएको समाजले जनाएको छ।
पत्रमा यो क्षेत्रले शुद्ध मनोरञ्जनको लागि मात्र नभई नेपाली कला संस्कृति लगायत गीत सङ्गीतको संरक्षण संवर्द्धनमा प्रमुख भूमिका खेलेको उल्लेख गरिएको छ।
नेपालमा रहेका एक सय बढी भाषामा आफ्नै गीत सङ्गीत उत्पादन हुने र तिनका म्युजिक भिडियोहरू बन्ने गरेको कारण नेपालको विशाल भाषिक तथा सांस्कृतिक विविधतालाई संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न पनि म्युजिक भिडियो उद्योगले कार्य गरिरहेको पत्रमा उल्लेख गरिएको छ।
समाजले बोर्ड अध्यक्ष केसीलाई पत्र बुझाउँदै राज्यले म्युजिक भिडिओको क्षेत्रबाट लिन सक्ने सम्भावित फाइदा र राजस्व शीर्षकहरूबारे जानकारी गराएको छ।
पत्र बुझ्दै अध्यक्ष केसीले जरुरी रहेको विषय जानकारी गराएको र आगामी बैठकमा यसबारेमा प्रस्ताव राख्ने बताए। केसीले बोर्डको तालुकदार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यसबारेमा जानकारी गराइ ठोस निर्णय गर्ने विश्वास दिलाए।
समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेले सोही प्रकृतिको ध्यानाकर्षण पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि बुझाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।