काठमाडौं– इजरायल–हमास युद्धबाट गाजा क्षेत्रका नागरिक निकै प्रभावित बनेका छन्। इजरायलको निरन्तर आक्रमणपछि त्यहाँका नागरिक ज्यान जोगाउन लुकेर बस्नुपरिरहेको छ।
स्थिति यहाँसम्म पुगेको छ कि एउटा घरमै ९० जनासम्म बस्नुपरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भइरहेका छन्।
इब्राहिम नामका एक व्यक्तिको घरमा उनका आफन्त, साथी र उनीहरुका साथमा अन्य व्यक्तिहरुसमेत रहँदै आएका छन्।
उनको आमा–बुबाको घरमा अहिले ९० मानिस रहँदै आएका छन्। उनी भन्छन्, ‘समस्या परेका बेला हाम्रो परिवारले कसैलाई खाली हात पठाएको छैन।’
मात्र दुइटा गद्दामा परिवारका सदस्य पालो–पालो गरेर सुत्छन्। वास्तवमा कोहीले पनि आराम गर्न पाएका छैनन्।
उनी भन्छन्, ‘उठ्नुदेखि सुत्नेबेलासम्म हामी मात्र जिउने कोशिश गरिरहेका छौं।’ उक्त क्षेत्रमा खानेको पनि निकै अभाव छ। परिवारका सदस्य हरेक दिन बाहिर जान्छन् ता कि कतै खाना बाँड्न थालिएको छ भने उनीहरुलाई पनि प्राप्त होस्।
परिवारले मात्र एक छाकको खाना मुस्किलले जुटाउँछन्। बालबच्चाका लागि झनै मुस्किल परिरहेको छ। परिवारमा १० बालबालिकाको उमेर त पाँच वर्षभन्दा मुनिको छ।
इब्राहिम भन्छन्, ‘केटाकेटी पटक–पटक खाना र पानी मागिरहन्छन्। र हामी उनीहरुलाई जति सम्भव हुन्छ त्यति दिने कोशिश गरिरहेका छौं। यहाँ सब कुरा सीमित छ। यो निकै मुस्किल हो। हामी ठूला त जसैगरी पनि सहन सक्छौं। भोकै रहन पनि सक्छौं। तर जब बच्चाहरु खाना माग्छन्। तब हामी उनीहरुलाई छैन भन्न सक्दैनौं।’
उनको घरमा एक गर्भवती र एक ज्येष्ठ नागरिक छन्। ज्येष्ठ नागरिकका लागि पनि अब केही दिनको मात्र औषधि बचेको उनले बताए।
उनी भन्छन्, ‘यदि कसैलाई केही भइहाल्यो भने हामीसँग अस्पताल जाने बाटो पनि छैन। मलाई हरपल यही कुराले पिरोलिरहन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।