काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी भइरहेका बेला नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न काठमाडौं आइपुगेका छन्।
भारतीय विदेश मन्त्रालयबाट गत असोज अन्तिम साता नियुक्त भएका उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।
यसैबीच, बुधबार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने तय भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको चाँजोपाँजो मिलाउन उनी नेपाल आउन लागेका हुन्।
नवनियुक्त राजदूत दलेला यसअघि सन् २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्धसम्बन्धी जिम्मेवारी सम्हाल्ने सचिवका रूपमा कार्यरत थिए। भारतले नेपालका लागि विदेश मन्त्रालयको सचिवस्तरका करिअर कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको सम्भवतः यो पहिलो पटक भएको जानकारहरू बताउँछन्।
सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत सम्हालेका थिए।
उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा पनि सेवा गरेका छन्।
सन् २००९ देखि २०११ सम्म उनी भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्यरत थिए। त्यस्तै, सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए भने सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनमा सहसचिवका रूपमा कार्यरत थिए।
उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा पनि काम गरेका थिए। साथै, विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका थिए।
अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरिसकेका दलेलाले वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिला हेरेका थिए भने सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।