काठमाडौँ– फिल्म ‘महाजात्रा’को छायाङ्कन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ।
एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन्। उनले कथाले पूर्णता नपाउदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण देखाए।
वितरक थापाले प्रवासमा रहेका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समूहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मुल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए।
उनले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए। वितरक थापाले ‘महाजात्रा’ मार्फत केही नयाँ देशमा नियमित चलचित्र प्रदर्शनको सुरुवाात हुने समेत जानकारी गराए।
निर्माता रवीन्द्र सिंह बानियाँले अन्तर्राष्ट्रिय वितरकले गरेको विश्वास र दर्शकले दिएको मायाले पछिल्ला शृङ्खलाको तुलनामा बलियो हुनुपर्ने दायित्व महसुस भएको बताए। ‘हामीले सानो रुपमा सुरू गरेको जात्रासँग अहिले दर्शकको भावनात्मक सम्बधन जोडिएको छ। यसले गर्ने व्यापार, प्रवासको बजार लगायतले हाम्रो मात्र नभई अन्य नेपाली चलचित्रलाई पनि टेवा पुर्याउने छ भन्नेमा विश्वास छौँ’, कार्यकारी निर्माता बानियाँले भने।
आपतकालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ।
यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै यसपटक हरिवंश आचार्य जोडिएका छन्।
दर्शकको विश्वास जितेर एकपछि अर्को सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाइरहेको ‘जात्रा’ शृङ्खलाको आगामी चलचित्र ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन्।
चलचित्रको छायाङ्कन दसैँ लगत्तै सुरु हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।