काठमाडौं- विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ परेका छन्।
वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाइदिन्छु भनी वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाइ विश्वासमा पारेर ठगी गरेको आरोपमा प्रहरीले पाकिस्तानी नागरिक नाजिर मोहम्मद र अजरबैजाानी नागरिक आयसेल हुसेनिललाई पक्राउ गरेको हो।
पीडितहरूले ठगिएको जाहेरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ठमेलको एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयले थप अनुसन्धानका लागि पक्राउ परेका दुवै विदेशी नागरिकलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।
अनुसन्धानका क्रममा उनीहरूले विदेश जाने प्रक्रियाका लागि पीडितहरूबाट प्रतिव्यक्ति १ लाख ३३ हजार रुपैयाँ लिने गरेको खुलेको छ। उनीहरूले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर पैसा पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए।
पीडितहरूलाई विश्वास दिलाउन उनीहरूले अजरबैजान समेत घुमाउने गरेको खुलेको उनले बताए। हालसम्म ८० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको जानकारी सूचना अधिकारी रेग्मीले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।