काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न देशका मुद्रा लुकाएर अवैध रुपमा बैंकक लैजान लागेका एक जना अमेरिकी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ७० वर्षीय अमेरिकी नागरिक डेभिड एलन हार्वर्ड रहेका छन्। उनी बुधबार अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ परेका हुन्।
बुधबार साँझ ६ बजेर २० मिनेटको विमानबाट काठमाडौंदेखि बैंकक जान लागेका उनको साथबाट प्रहरीले नेपालीसहित अन्य देशका मुद्रा फेला पारेको छ।
नेपाली रुपैयाँ ६ लाख ७ हजार ४ सय ९६, अमेरिकी डलर ११५, विभिन्न दरका सिंगापुर डलर ४४, थाई भाट २० हजार ९ सय र भारतीय रुपैयाँ २८ हजार १० बरामद भएको छ।
यस्तै रकम खुल्न नसकेका नेपाली लगायत विभिन्न भाषाका प्राचीन मुद्राहरु ६४ थान पनि उनको साथबाट बरामद भएको छ। पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।