काठमाडौं– गत असोज १ गते राति पर्साको जगरनाथपुर ६ मसिहानीमा महिलाको घाँटी रेटी हत्या भएको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरीले मृतकका दुई जेठाजुहरूसहित तीन जना पक्राउ परेको जनाएको छ।
पक्राउ पर्नेमा मृतकका जेठाजुहरू चन्द्रिका राउत वीन र अमीरीका राउत वीन तथा लालबाबु राउत वीन रहेका छन्।
असोज १ गते राति ११:४५ बजे मसिहानीमा ५६ वर्षीया कान्तीदेवी वीनको घरनजिकै कोठामा घाँटी रेटी हत्या भएको थियो। घटनापश्चात् जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको कमाण्डमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको थियो। मृतक कान्तीदेवीका छोरा रोजगारका सिलसिलामा मलेसियामा रहेका थिए।
पोस्टमार्टमपछि हत्याको आरोप लागेका जेठाजु चन्द्रिकाले नै उक्त शव बुझिलिएका थिए। तर मलेसियाबाट फर्किएपछि मृतककका छोराले चन्द्रिकाविरुद्ध नै उजुरी दिएपछि प्रहरी उक्त कोणबाट अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा ती आरोपीहरूले मृतकको घरमा चोरी गर्ने योजना बनाइ मृतकको घरमा सुरुङ बनाइ (सेनकाटी)घरभित्र प्रवेश गरी चोरी गर्नको लागि बक्साहरू खोतल्दै गरेको अवस्थामा मृतक बिउँझी प्रतिवादीहरूलाई चिनेपश्चात पोल खुल्ने डरले प्रतिवादीहरू मिली मृतकको टाउकोमा रड र काठको फलेकले प्रहार गरेको प्रहरीले बताएको छ। त्यसपछि सिरानीले मुख थुनी खुर्पीले घाँटी रेटी हत्या गरेको अभियुक्त लालबाबु राउतको बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका आरोपीहरूलाई सोमबार जिल्ला अदालत पर्साबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।