काठमाडौं- नगद चोरेर फरार रहेका भारत घर बताउने २८ वर्षीय इरशाद अली पक्राउ परेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीले गैंडाकोट नगरपालिका- १० पितौजीबाट सोमबार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
आइतबार साँझ बर्दियाबाट काठमाडौतर्फ आउँदै गरेको भे१ख ३९३४ नम्बरको यात्रुवाहक बसको एउटै सिटमा बसेर आएका बर्दियाको बडियाताल बस्ने २३ वर्षीय मधु परियारको नगद ५० हजार रुपैयाँ चोरी गरेर अली फरार भएका थिए।
गैंडाकोटको कोटिहोम चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा सवार यात्रुहरु ओर्लने क्रममा अली सो रकम चोरी जंगलतर्फ फरार भएका थिए।
उक्त रकम हराएको भनी पितौजीस्थित सशस्त्र प्रहरी बलको हाइवे सुरक्षा चेकपोष्टलाई जानकारी गराएपश्चात् पूर्व-पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसमा जाँच गर्दा गैंडाकोटबाट चितवनतर्फ आउँदै गरेको बसबाट उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए।
नियन्त्रणमा लिइएका अलीलाई उक्त नगदसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी बेल्डियामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।