काठमाडौं- रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका- १ डण्डाबाट असोज १४ गते सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरु भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानाकारी दिए।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु२च ७३५० र प्रदेश ०१-०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डिएसपी थापाले बताए।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ भने उल्लेखित रुपैयाँ र दुई वटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।