काठमाडौं– शनिबार बिहान वीरेन्द्रनगरमा एक जना ६ वर्षीय बालकलाई ठक्कर दिएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिहान वीरेन्द्रनगर–३ भैरवस्थान स्थित आमाको भान्साघर अगाडि ऐरीचोकबाट मुलपानीतर्फ जाँदै गरेको मोटरसाइकलले पदल यात्री दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला घर भएका ६ वर्षीय बालक टेकदर्शन पुरीलाई ठक्कर दिएको थियो।
मोटरसाइकलबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि कर्णाली केयर अस्पतालमा लगेकोमा उपचारकै क्रममा मृत्यु भएको थियो। उक्त घटनाको जानकारी हुनासाथ कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्माको कमाण्डमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय समेतको टोलीले खोजी गर्दै जाँदा ठक्कर दिने व्यक्ति आइतबार पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका ३१ वर्षीय अर्जुन पुन रहेका छन्। प्रहरीले उनलाई आफ्नै घरमा मोटरसाइकल लुकएर आफूसमेत लुकेको अवस्थामा पक्राउ परेका हुन्।
उनलाई मोटरसाइकलसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।