काठमाडौँ– फिल्म ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। चलचित्रका निर्माता जितेन्द्र खतिवडाका अनुसार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेका हुन्।
नेपाली फिल्म तीन देशबाट प्राप्त गरिरहेको उच्चतम रकममा अधिकार बिक्री गरिएको खतिवडाले बताए। यसअघि अस्ट्रेलियामा पनि 'रङ्गेली' बिक्री भइसकेको छ। अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ।
आगामी मार्च ८ तारिख (महाशिवरात्रिको दिन फागुन २५ गते)मा अस्ट्रेलिया, जापान, कोरिया र हङकङमा यो चलचित्र नेपालसँगै रिलिज हुने पक्का भइसकेको छ। सोही मितिमा रिलिज गर्न यी बाहेकका मुलुकमा पनि वितरकसँग सम्झौता हुने तयारीमा रहेको निर्माता खतिवडाले बताए।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ। हाल फिल्मको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ।
यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ।
गीतमा हर्क साउदको शब्द रचना छ। फिल्मका अन्य गीतमा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ।
फिल्मलाई सुसन प्रजापतिले छायाङ्कन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।