काठमाडौं- सुन तस्करीसम्बन्धी छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत विपक्षी दलहरुको माग अनुसार सरकार आयोग गठन गर्न तयार भएको हो।
यसअघि एमालेले आयोग गठनको माग गर्दै भदौ पहिलो साता सदन अवरुद्ध गरेको थियो। एमालेको सदन अवरोध हटाउनका लागि सरकारले असोज ५ गते आयोग गठन गर्ने र त्यसबीचमा सीआईबीले अनुसन्धान सक्ने सहमति भएको थियो।
असोज ५ गतेपछि पनि सरकार उक्त सहमतिबाट पछि हटेपछि एमाले लगायत विपक्षी दलहरुले आइतबार बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने बताएपछि त्यसअघि नै सरकारले आयोग गठन गर्ने घोषणा गरेको हो।
आइतबार बिहान बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले उक्त आयोगको कार्यादेश लगायत गठन प्रक्रियामा सहमति गरेको छ।
३ महिना अवधि रहने आयोग उच्च अदालतको पूर्व न्यायधीशको नेतृत्वमा ३ सदस्यीय रहने र आजैबाट काम थाल्ने एमाले सचेतक महेश बर्तौलाले बताए।
उक्त आयोगको घोषणा मन्त्रिपरिषद्ले १ बजे बस्ने संसद्अघि नै गर्नेछ। त्यसका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।