काठमाडौं– सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिक्त रहेका बोर्ड सदस्यहरु नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले रिक्त रहेका ६ जना सदस्य नियुक्त गरेको हो।
मन्त्रिपरिषद्को बैठकले डा दिनेश विक, डा रश्मी पुन, डा रिता महासेठ, डा अनिलविक्रम कार्की, दिलीप पौडेल र शीलादेवी अधिकारीलाई अस्पताल सञ्चालक सदस्यमा नियुक्त गरेको हो।
अस्पतालको १४ सदस्यीय रहने सञ्चालक समितिमा ६ जना सदस्य स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ। सोही अनुसार मन्त्री मोहन बस्नेतले पठाएको नामावली मन्त्रिपरिषद्ले सदर गरेको हो।
अस्पताल सञ्चालक समितिमा भरतपुर महानगरपालिकाका प्रमुख, स्वास्थ्य मन्त्रालयका सचिव वा सचिवले तोकेका व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेका व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ। यसैगरी, समितिले २ जना नियुक्त गर्ने व्यवस्था रहेको छ।
सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस उपसमिति गठन गर्ने व्यवस्था छ। उक्त उपसमितिले सिफारिस गरेका व्यक्तिमध्येबाट सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्त गर्ने छ। समितिमा सदस्य नियुक्त भएसँगै कार्यकारी निर्देशक नियुक्तिको बाटो समेत खुलेको छ।
अस्पातलमा कार्यकारी निर्देशक नहुँदा नियमित काम प्रभावित हुनुका साथै कर्मचारीको तलब समेत रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।