काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका विभिन्न ७ ठाउँमा अति भारी वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको हो।
पाल्पाको बल्ड्याङगढी क्षेत्रमा पछिल्लो ३ घण्टामा मात्रै ११३.६ मिलिमिटर वर्षा भएको छ। उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यस्तै, स्याङ्जाको कुमालगाउँ क्षेत्रमा पछिल्लो २४ घण्टामा १४२ मिलिमिटर वर्षा भएको छ। दाङको कोइलावास क्षेत्रमा पछिल्लो २४ घण्टामा १३७.२ मिलिमिटर वर्षा भएको छ। अर्घाखाँचीको खान्चीकोटमा १५४.६ मिलिमिटर वर्षा भएको छ। नवलपुरको देउवाली नवलमा १४३.८ मिलिमिटर वर्षा भएको छ।
लमजुङको खुडी बजारमा १३१.८ मिलिमिटर वर्षा भएको छ। पाल्पाको तानसेनमा पछिल्लो २४ घण्टामा १६३.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यस्तै, मधेस प्रदेशको बाराको जितपुरमा पनि भारी वर्षा भइरहेको विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा जितपुरमा १५३.८ मिलिमिटर वर्षा भएको छ।
भारी वर्षा भइरहेका क्षेत्रमध्ये स्याङ्जाको कुमाल गाउँ र लमजुङको खुडी बजार नारायणी नदीको जलाधार क्षेत्र हुन्। यस्तै, अर्घाखाँचीको खान्चीकोट र पाल्पाको तानसेन गण्डकी नदीको जलाधार क्षेत्र हुन्।
पाल्पामा भइरहेको भारी वर्षाका कारण तिनाउ नदीमा जलसतह बढेर खतराको तहभन्दा माथि पुगेको छ।
बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउ नदीमा बिहान ८:२० बजेसम्म जलसतह ७.११ मिटर पुगेको छ। तिनाउ नदीमा जलसतह ५.२ मिटरलाई सतर्कता तह र ५.६ मिटरलाई खतराको तह मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।