प्रतिकात्मक तस्बिर
काठमाडौं– तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। पाल्पा र रुपन्देहीमा भइरहेको लगातारको वर्षाका कारण तिनाउमा जलसतह बढेको हो।
नदीमा जलसतह बढेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन तिनाउ नदी तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ।
बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउ नदीमा बिहान ७:४१ बजेसम्म जलसतह ६.५८ मिटर पुगेको छ। तिनाउ नदीमा जलसतह ५.२ मिटरलाई सतर्कता तह र ५.६ मिटरलाई खतराको तह मानिन्छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउमा जलसतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको जानकारी दिए। बाढीको उच्च जोखिममा रहेकाहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरणको तयारी भइरहेको प्रजिअ पाण्डेको भनाइ छ।
पाल्पाबाट सुरु भइ चुरे भएर बग्ने तिनाउ नदीका लागि आवश्यक पर्ने बहाव क्षेत्र नभएका कारण बुटवलमा तिनाउले बस्ती डुबान र कटान हुँदै आएको छ। तिनाउका लागि २३७ मिटरसम्मको फराकिलो बहाव क्षेत्र आवश्यक पर्ने विज्ञहरु बताउँछन्। तर बुटवलमा भने मुस्किलले ५०–६० मिटर मात्रै बहाव क्षेत्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।