काठमाडौं- नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज (शनिबार) देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन र चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।