काठमाडौं- जिल्ला अदालत ललितपुरमा एक कानुन व्यवसायीले कर्मचारीमाथि आक्रमण गरेको घटनालाई लिएर अदालतका कर्मचारीले आन्दोलन घोषणा गरेका छन्।
अधिवक्ता अमिर लामिछानेले नासु प्रेमिका तामाङलाई आक्रमण गरी घाइते बनाएको र उल्टै कानुन व्यवसायीहरुले धम्की दिएको भन्दै अदालतका कर्मचारीहरुले कार्य सम्पादन गर्न नसक्ने चेतावनी दिएका छन्। उनीहरुले सात बुँदे माग अघि सार्दै कर्मचारीहरु असुरक्षित भएकाले तत्काल कार्य सम्पादन गर्न नसक्ने भन्दै हस्ताक्षरसहित विज्ञप्ति जारी गरेका छन्।
असार १३ गते ललितपुर जिल्ला अदालतमा तारेख लिने क्रममा अधिवक्ता लामिछानेले नासु तामाङमाथि हातपात गरेका थिए। वकिलको आक्रमणबाट आफू घाइते भएको भन्दै उनले प्रहरी कार्यालयमा जाहेरी पनि दिएकी छिन्। उक्त जाहेरीपछि लामिछाने पक्राउ परेका थिए।
हाल हिरासतमा रहेका उनलाई अभद्र व्यवहारमा अनुसन्धान भइरहेका छ। अनुसन्धान चलिरहेकै अवस्थामा अदालतका कर्मचारीहरु भने आन्दोलित भएका हुन्। यसअघि सर्वोच्च अदालतका ट्रेड युनियनहरुले पनि संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।