काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (शुक्रबार बिहान) देशभरका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। रुकुमकोटको मुसिकोट र पाल्पाको तानसेनमा उच्च वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार रुकुमकोटको मुसिकोटमा पछिल्लो १ घण्टामा ७९ मिलिमिटर वर्षा भएको छ। यस्तै, तानसेनमा पछिल्लो २४ घण्टामा १४२ मिलिमिटर वर्षा भएको छ।
विभागका अनुसार देशका प्रमुख नदीमध्ये कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा नै छ। यद्यपि केही नदी र सहायक नदीमा भने शुक्रबार आकस्मिक बाढीको जोखिम रहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार रुपन्देही, कपिलवस्तु र पाल्पा जिल्ला भएर बहेन नदी तथा खोलाहरुमा उच्च बाढीको जोखिम छ। इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान र दाङ जिल्ला भएर बहने स–साना नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने तथा केही नदीमा आकस्मिक बाढी आउने जोखिम छ।
साथै, सुनसरी, काभ्रे, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ र बाँके भइ बहने केही स–साना नदीहरुमा बहाब बढ्नसक्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।