काठमाडौं– फिल्म ‘हल्कारा’का हुलाकी रामलाई पर्दामा देख्दा अभिनेता महेश त्रिपाठीका आँखा ओभाना रहेनन्।
मुभी लभर्सले गत आइतबार आयोजना गरेको विशेष शो सकिनासाथ उनलाई दर्शकदीर्घामा बोलाइयो। हातमा माइक पर्नासाथ उनी केही भन्न चाहन्थे, तर गला अवरुद्ध भयो।
सुटिङ सकिएको पाँच वर्षपछि महेशले पहिलो पटक फिल्म सेन्सर बोर्डमा हेरे। त्यहाँको ‘झमेला’ले फिल्म हेर्नुको अनुभूति सँगाल्नै पाएनन्।
सिनेमाप्रेमीबीच बसेर हेर्दा त उनी फिल्मसँगै बगिरहे। ‘लिड क्यारेक्टरमा पहिलो पटक कसैले विश्वास गरेर दिएको फिल्म। अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म ठूलो स्क्रिनमा हेरिरहँदा म आफ्नै तरिकाले फ्लो भएँ,’ नेपाल लाइभको स्टुडियोमा महेशले अविष्मरणीय क्षण सम्झिए।
उनले सम्झिरहँदा फिल्मका निर्देशक विक्रम सापकोटाले हाँस्दै भने, ‘दामोदर दाइ अलि भावुक रहेछन्।’ फिल्मको राम पात्रबाट एउटा परिस्थितिमा फुत्किएको डाइलग समातेर निर्देशकले हाँसोको माहोल भरिदिएका थिए।
अब अभिनेता महेशको वर्षौंदेखिको प्रतीक्षालाई आगामी २९ वैशाखले पूर्णविराम लगाउनेछ।
यसैबीचमा फिल्मसँग जोडिएका जिज्ञासा बटुलेर पंक्तिकार निर्देशक र अभिनेतालाई प्रश्न तेर्स्याइरहेको थियो।
करिब २ दशकदेखि अमेरिकामा बस्दै आएका विक्रमले सन् २०१३ देखि स्क्रिप्ट लेख्न सुरु गरेका थिए। अमेरिकाले बेला बेलामा लडिरहेको युद्धबारे सोच्दा उनले गोरखाली सम्झन्थे। ‘नेपालमा अर्काको युद्ध लड्ने क्रममा लामो समयपछि चिठ्ठी आयो होला। त्यस्तो बेला हुलाकीको लापरबाहीले के हुन्थ्यो होला,’ उनले निकै समय मन्थन गरे।
त्यसपछि अमेरिका र नेपाल आवतजावत। नेपालका विभिन्न भूगोलमा गएर चिठीयुगको मनोविज्ञान र कथाबारे अध्ययन गरे।
पटकथा लेखक स्वयम् फिल्मको निर्देशक थिए। ‘लेखक विक्रम र निर्देशक विक्रमको अन्तरद्वन्द्वचाहिँ कतिको हुने रहेछ,’ उनलाई प्रश्न गरियो।
‘स्क्रिनप्लेमा भाव लेखिएको हुन्छ। मिनिङ लेखिएको हुन्न। राइटरले लेखेको भावलाई पिक्चरमा उतार्नुपर्ने। सर्टहरू इनअफ लिइनँ भन्ने थियो,’ विक्रमले सुनाए।
रोचक कुरा त लेखक र निर्देशक मात्र हैन। फिल्मको सम्पादक पनि विक्रम स्वयम् हुन्। ‘इडिटर विक्रम सापकोटालाई निर्देशक विक्रमले लैदिएको मेटेरियलले काम गर्न कतिको सहज बनायो?’ अन्तर्वार्ताकारको जिज्ञासा निर्देशकलाई बुझाउन अभिनेता महेश ‘हल्कारा’ बने।
विक्रमले जिज्ञासाको जवाफ हाँस्दै दिए, ‘एक रद्दि पनि छैन। के खिचेर ल्याएको जस्तै भयो।’
थपे, ‘एउटा फिल्म तीन पटक बन्छ। लेख्ने बेला, प्रोडक्सनको बेला र पोस्ट प्रोडक्सनमा...। मेरो सबैभन्दा ठूलो द्वन्द्व नै एडिटिङ गर्न बस्दा हो।’
फिल्ममा लिड एक्टर महेश र विनिता थापामगरको कामको प्रशंसा विदेशी र स्वदेशी दर्शकले गरिरहेका छन्। राम र मियाँको अव्यक्त प्रेमको प्रसंगले कथालाई रोचक बनाएको छ। ‘महेश राम चरित्रका लागि कसरी छनोट भए त?’ जिज्ञासा थियो।
फिल्मका निर्माता रामकृष्ण पोखरेलले महेश र विक्रमको बीचमा ‘हुलाकी’को काम गरेका रहेछन्। विक्रमले यसअघि ‘उम्दा’ कलाकारलाई पनि अडिसनमा नउभ्याएका हैनन्। तर ‘राम’को अभाव उनीहरूको अनुहारमा खड्कियो।
‘सरकार राम भेटिएन। चित्तै बुझेन मलाई’ विक्रमले आरकेलाई सुनाए।
आरकेले तत्काल एक युवकको फोटो देखाए। विक्रमले हेरे, ‘अनुहार फोटोजेनिक छ।’
आरकेले मन चोर्न महेशलाई स्क्रिप्ट पठाइदिएछन्। २/४ लाइन पढेर स्क्रिप्ट पन्छाउने स्वभावका मशेलाई यो कथाले पनि तानिरह्यो। उनी बगिरहे। एक बसाइमै सकाए। मनमा लोभ पलायो, ‘यो क्यारेक्टर मैले गर्न पाए।’
आरकेमार्फत् अभिनेता र निर्देशकको भेट भयो। अडिसन भयो। दुवैले दुवैलाई विश्वास गरे। त्यसपछि सुरु भयो काम।
‘दुवै कलाकारको क्यामेरामा प्रिजेन्स यस्तो बबाल थियो कि एक समयपछि म बोल्नै छाडिदिएँ,’ विक्रम सुनाउँछन्।
हुलाकी रामले खैनी खान्छ। महेशले संवादको क्रममा खैनीले वर्षौं पारेको असरबारे सम्झिए। घाटीमा समस्या आयो। एन्जाइटी बढ्यो, खाना खानै नसक्ने भए। पानी खाँदा पनि अड्किने भयो। ‘बाँच्दिनँ कि,’ उनलाई डर लाग्यो।
‘विस्तारै सहज हुँदै गएपछि चाहिँ बाँच्छु कि जस्तो लाग्यो,’ उनी ढुक्क सुनिए।
तर यसको उपचार र फलोअप भने अझै जारी छ महेशको। यतिबेला उनी फिस्स हाँस्छन्। हाँस्दा महेशको भावले भनिरह्को थियो, ‘हल्कारा बन्न सजिलो कहाँ थियो र!’
यो पनि:
जब महेशले वर्षौंको निराशा ‘हल्कारा’मा बिसाए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।