काठमाडौं– आइसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन बनेको छ । युएईमा भएको ४ वटै खेलमा नेपाल पराजित हुन पुग्यो । बुधबार भएको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित हुन पुग्यो ।
नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । युएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
शाहदादले मोहम्मद वासिनलाई चौथो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । मोहम्मदले ७३ बलमा ७६ रन बनाएर आउट भए ।
बलिङमा नेपालका करण केसीले ३, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एकएक विकेट लिए ।
त्यसअघि आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।
कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रनमा आउट भए । ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।
बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुईदुई विकेट लिए । यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।