‘ओ दयारानी,’ उनी सानो छँदा बाले आमालाई मायाले बोलाएको यो नाम पछिसम्म पनि कानमा गुन्जिरहन्थ्यो।
‘बा खुसी हुँदा किन आमालाई यही नामले बोलाउँछन्?’ उनी जान्न उत्सुक थिए।
आफ्नो संस्कृतिलाई नजिकबाट केलाउँदै गएपछि थाहा भयो, ‘यो त गुरुङ युवतीहरूलाई दिइने उपमा रहेछ।’
अभिनेता माओत्से गुरुङले पाँच वर्षअगाडि एक निसन्तान गुरुङ दम्पतीको कथामाथि स्क्रिप्ट लेखे।
फाइनल भएपछिका केही दिन नाम जुराउनैमा खर्चिए। मन्थनको बेला बाले आमालाई दिएको उही उपमा सम्झिए।
अनि साथीहरूलाई सुनाए, ‘मैले फिल्मको नाम दयारानी जुराएँ।’
साथीहरूबाट नाम सदर भयो। त्यहीबखत एक साथीले ठट्टामा भने, ‘यदि दयाहाङले फिल्म खेल्यो भने उसकै नामबाट शीर्षक जुराएको भन्ठान्छन् होला, हाSSS...।’
संयोग पनि त्यस्तै। यो भूमिकाका लागि दयाहाङको विकल्प माओत्सेले फेला पारेनन्। दयालाई स्क्रिप्ट देखाए। कथा मन पर्यो। दया फिल्ममा ‘गुरुङ’ बन्न राजी भए। अभिनेत्री दिया पुनलाई स्क्रिप्ट लेख्नुअघि प्रस्ताव गरेका थिए। उनै दुई परिचित अनुहारलाई लिएर माओत्सेले ‘दयारानी’ बनाए।
अब यो फिल्म २६ माघबाट दर्शकहरूको हुनेछ। यतिबेला माओत्से कतिपयले गरेको अड्कलबाजी सुन्छन्, ‘दयाहाङले खेलेको भएर फिल्मको नाम दयारानी राखेको होला।’
उनी पाँच वर्षअघि साथीले गरेको ठट्टा सम्झेर मुसुक्क हाँस्छन्।
र भन्छन्, ‘ त्यसो त हैन।’
०००
माओत्से कुशल चरित्र अभिनेता हुन्। चाहे ‘पुरानो डुंगा’ होस् वा ‘कबड्डी’ शृंखला।
दर्जन भन्दा बढी फिल्महरूबाट उनी दर्शकहरूमाझ लोकप्रिय भइसकेका छन्। तर धेरैलाई उनको निर्देशकीय छवीबारे थाहा नहुनसक्छ। यसअघि गुरुङ फिल्महरू मात्र बनाइरहेका माओत्सेले पहिलो पटक नेपाली भाषाको फिल्म निर्माण गरे। केहीदिनअघि बागबजारको एक क्याफेमा हामीले उनीसँग ‘दयारानी’को यात्राबारे भलाकुसारी गर्यौँ।
माओत्से झण्डै १ दशक अगाडिको स्मृतिमा फर्किए।
०००
समाजको एउटा तीतो यथार्थले उनलाई सधैं पोलिरहने रहेछ। ‘त्यो के भने श्रीमान्को कारण बच्चा हुँदैन थियो। दोष श्रीमतीले खेप्नुपर्थ्यो। पुरुष अहम्का कारण महिलाले खेपिरहेको पीडाले मलाई झक्झक्याइरह्यो। यो विषयमा सोचिरहँदा थाहै नपाई मस्तिष्कमा कथाको भ्रूण जन्मिएछ,’ माओत्से स्मृतिको पत्र उप्काउँछन्।
चार वर्षसम्म मस्तिष्कमा बोकेर हिँड्दा भ्रूणले आकार लिँदो रहेछ। नयाँ चित्रहरू कोरिँदै जाँदा रहेछन्। दृश्यहरू मडारिने रहेछन्। ‘दिमागमा रहँदा यस्तो सुन्दर तरिकाले बन्दो रहेछ कि एउटा सुन्दर फिल्म भित्रै निर्माण भइसकेको हुन्छ,’ माओत्से भन्छन्।
त्यसलाई पटकथामा उतार्नुअघि माओत्से मस्तिष्कले कल्पेको ठाउँ हेर्न लमजुङको घले गाउँ गए। कल्पेको लोकेसन यथार्थसँग मेलै खाएन। फर्कनेबेलामा सोचे, ‘अब स्क्रिप्ट नसकी लोकेसन खोज्दिनँ।’
पटकथा एकपटक मात्र लेखेनन्। पटक पटक लेखे। २०औँ ड्राफ्टपछि मात्र ‘ओके’ गरे। त्यसपछि लोकेसनका लागि जहा जहाँ धाए, अनुहार खुम्च्याएर मात्र फर्किए। ‘स्याँजा, तनहुँ, कास्की र लमजुङका थुप्रै गाउँ डुलेँ। कहीँ पनि भनेजस्तो ठाउँ भेटिनँ। कथामा जस्तो घरमा धनसार, नजिकै रुख, फराकिलो आँगन, नबारिएको पिँडी, यस्ता खालका घर भेट्नै मुस्किल भयो,’ माओत्से सुनाउँछन्।
एकदिन युट्युवमा ठाउँहरू खोज्दै थिए। मादी गाउँपालिकाको याङ्जाकोट गाउँ फेला पर्यो। गाउँको संरचना उनले सोचे जस्तै थियो। देखेलगत्तै त्यो गाउँ घुम्न निस्किए। चाहेको जस्तो घर त्यहाँ पनि फेला परेन। निराश भएर फर्किँदै गर्दा एक स्थानीयले सुझाए, ‘एकपटक पुछारको घरमा जानुस् त। तपाईंहरूले भनेजस्तो फेला पर्छ कि।’
माओत्से र प्रोडक्सन म्यानेजर स्थानीयले सुझाएपछि गाउँकै पुछार घरमा गए। सोचेजस्तो घर त्यहाँ पो फेला पर्यो। कथाका अनुसार घरमा भएको पिँडीको बारचाहिँ भत्काउनुपर्ने थियो। उनीहरूले घरधनीलाई आग्रह गरे, ‘हामी सिनेमा खिच्नका लागि आएका। हाम्रो कथा अनुसार तपाईंहरूको यो आँगनको बार सुटिङका लागि भत्काउनुपर्ने हुन्छ। सुटिङपछि जस्ताको तस्तै बनाइदिन्छौँ।’
‘हाम्रै भाइ छोराले फिल्म बनाउन लागेको छ। जे जे फोर्ने हो फोरिदेऊ,’ घरधनीले खुसीसाथ अनुमति दिए।
त्यसपछि त मंसिर २०७५बाट ‘दयारानी’ले रिलको बाटो तय गर्यो।
०००
पाँच वर्ष बित्यो, माओत्से ‘दयारानी’ खिचेर काठमाडौं फर्किएका। ‘तर यतिका वर्षमा पनि किन रिलिज भएन?’ कसैले भेट्नासाथ यही प्रश्न सोध्ला कि भन्ने लाग्छ माओत्सेलाई। ‘मैले त माया मारिदिएको थिएँ यसलाई,’ उनले भने।
‘दयारानी’ले रिलिजको समय पर्खिरहेको थियो। चार पटकसम्म माओत्सेले मिति सारिरहनुपर्यो। कारण, ‘ठूलो माछाले सानो माछालाई निल्छ’ कि भन्ने डर! ठूला ब्यानरका फिल्मको चेपुवामा परेर ‘दयारानी’ले निकास नपाउला कि भन्ने पीर! ‘त्यसपछि कोभिड आयो। कोभिडले धेरै समय धकेलिदियो,’ उनी सुनाउँछन्।
कोभिड महामारीका समय त्रास मात्र हैन, कलाकारहरू आर्थिक संकटसँग पनि जुधिरहेका थिए। महामारी पार लाग्नासाथ माओत्सेलाई फिल्मका प्रस्ताव आउन थाले। ‘मेरो व्यस्तता अभिनेताको रुपमा अरुको फिल्ममा जति जति बढ्दै गयो, मैले दयारानीलाई उति उति भुल्दै गएँ,’ उनी सुनाउँछन्।
‘दयारानी’लाई हार्ड डिस्कमा कैद गरेर हिँडेका माओत्सेलाई वितरक प्रचण्डमान श्रेष्ठले पटक पटक घच्घच्याए। फिल्म बनाउँदा वितरकसँग लिएको पैसा ऋण गरेरै पनि तिर्ने सोच बनाए। उनलाई प्रचन्डमानले सम्झाए, ‘त्यसरी हुन्न। बनिसकेको चिज देखाउनुपर्छ। फिल्म राम्रो छ।’
माओत्सेले सोचे, ‘यदि फिल्मदेखि भागेर पनि कहाँसम्म पुग्ने?’
र निर्णय गरे– ‘दयारानी’ ल्याउने।
यसपटक पनि फिल्मको रिलिज मिति ‘हात्तीछाप’सँग जुध्यो। मिति सार्न उताका निर्माण टिमका साथीहरूले अनुरोध गरे। तर, उनी सार्ने पक्षमा देखिएनन्। भने, ‘जति हुन्छ हुन्छ। मिलेरै जाऊँ। यहाँभन्दा उता कति सार्नु?’
०००
फिल्म रिलिजको छेकोमा छ। एउटा निर्देशकका लागि सिनेमा भन्दा ठूलो परीक्षा के हुनसक्ला?
यस्तो परीक्षा, जसको सफलता र असफलताले ठूलो अर्थ राख्छ। परीक्षा नजिकिँदै गर्दा माओत्से यतिबेला फिल्म खिचेर काठमाडौं फर्किएको त्यो दिन पनि सम्झिन्छन्। जुन दिन उनको खल्ती रित्तिएको थियो। कलाकार प्राविधिकलाई दिनुपर्ने पारिश्रमिक बाँकी नै थियो। त्यो दिन विदेशमा भएका नातेदारसँग ऋण मागेर सबैलाई भुक्तानी गरिदिए।
तर नातेदारसँग लिएको पैसा पनि त केही समयभित्र चुक्ता गर्नुपपर्थ्यो!
उनले घर बैंकमा राखेर ऋण लिने निर्णय गरे। श्रीमतीलाई भने, ‘सिनेमाले बनाएको घर सिनेमाले नै लैजान्छ भने लैजाओस्।’
उनको आँटमा श्रीमतीले पनि साहस भरिदिइन्। ‘तर त्यो घर अझै उकासिएको छैन। मैले किस्ता तिरिराखेको छु,’ माओत्से सुनाउँछन्।
यद्यपि, आफ्नो कुरा भन्न आफैंले उठाएको जोखिमसँग उनी हच्किएका छैनन्।
०००
अभिनय र निर्देशन दुवैको अनुभव सँगालेका माओत्सेलाई हाम्रो अन्तिम प्रश्न थियो, ‘तपाईंका लागि यी दुईमध्ये कुनचाहिँ स्वाद मीठो।’
उनले हाँसोमजाकमै भने, ‘अभिनय गर्दा पैसा आउँछ। निर्देशन गर्दा जान्छ। स्वाद त अभिनयमै छ, हाSSS।’
उनको जवाफले केहीबेर हाँसोको माहोल बन्यो। त्यसपछि माओत्सेले थप कुरा जोडे, ‘खासमा आफूलाई लागेको विषयवस्तु भन्नका लागि मेकर हुनु जति मज्जा अरुमा सायदै हुन्छ।’
गुरुङ संस्कृतिलाई माओत्सेले नजिकबाट नियालेका छन्। र उनलाई आफ्नो कथा आफैं भन्न मन लाग्छ। किनकि त्यसमा छुट्टै आनन्द छ। अब त्यही आनन्द ‘दयारानी’ले दर्शकहरूलाई पनि दिन्छ त?
त्यसको जवाफ माओत्सेलाई २६ माघमा मात्र मिल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।