काठमाडौं- उदयपुर, त्रिवेणी नगरपालिकाका वीरेन्द्र बढाइ तीन वर्षअघि साहुसँग मासिक सयकडा पाँच रुपैयाँ ब्याज तिर्ने गरी ऋण लिएर साउदी अरब गए। उनले पाँच कठ्ठा जग्गा धितो राखेर डेढ लाख रुपैयाँ निकालेका थिए।
वीरेन्द्र साउदी गए। सुरुमा कमाइ पनि राम्रै थियो। मासिक ४० हजार कमाउँथे। तर गएको केही महिनापछि नै उनी बिरामी परे। अस्पतालमा चेकअप गराउँदा पेटमा क्यान्सर देखियो। डाक्टरले अपरेसन गर्नुपर्छ भने। तर अपरेसन गर्ने पैसा थिएन। उनले आफू काम गर्ने कम्पनीको मालिकलाई सुनाए। तर मालिकले बेवास्ता गरेपछि औषधि खाएरै काम गरिरहे। 
‘पेटमा क्यान्सर भएपछि आफैं उपचार गर्ने अवस्था थिएन। उहाँले काम गर्ने कम्पनीको मालिकले पनि केही हेरेन। त्यसपछि औषधि खाँदै उतै काम गरिरहनुभयो,’ मिटरब्याजी विरुद्धको आन्दोलनमा सहभागी हुन काठमाडौं आएकी वीरेन्द्रकी श्रीमती लालरेखाले भनिन्। 
श्रीमानले महिनामा ३० हजार रुपैयाँ घरमा पठाउँथे। त्यतिबेला लालरेखाले एक पटक श्रीमानले पठाएको ८२ हजार रुपैयाँ लगेर साहुलाई बुझाइन्। 
‘साहुले तिरेको पैसाको हिसाब राख्यो कि राखेन मलाई थाहा छैन। मलाई पढ्न आउँदैन,’ उनले भनिन्। 
अर्को पटक ७५ हजार रुपैयाँ बुझाइन्। त्यतिबेला साहुले ४ लाख रुपैयाँ बाँकी भएको हिसाब सुनाए। उनी अचम्मित भइन्।

‘त्यसपछि मैले श्रीमान बिरामी हुनुहुन्छ। त्यत्रो पैसा तिर्न सक्दिनँ भनें। साहुले अदालतमा मुद्दा हालिदिए,’ उनी सुनाउँछिन्।
त्यहीबेला श्रीमान् वीरेन्द्रलाई पनि काम गर्न नसक्ने भएको भनेर साहुले नेपाल पठाइदिए। अहिले उनका श्रीमान् थला परेका छन्।
‘सकुन्जेल काम लगाएर काम गर्न नसक्ने भएपछि मालिकले मेरा श्रीमानलाई नेपाल फर्कादियो। उहाँ अहिले उठेर केही गर्न सक्नुहुन्न। साहुले अदालतमा मुद्दा हालेको छ, जग्गा लिलामी गर्ने भनेर। मैले छोराछोरीलाई पढाउनु कि श्रीमानको उपचार गराउनू?,’ उनले भनिन्।
एक छोरीले कक्षा १२ मा पढ्दै गर्दा कलेजमा फी तिर्ने पैसा नभएर पढाइ छाडेको लालरेखाले सुनाइन्। अहिले उनका छोरा कक्षा ११ मा र सानी छोरी कक्षा ८ पढ्दैछन्। 
‘छोरी एजुकेसनमा अंग्रेजी विषय लिएर पढ्दै थिई। मैले उसको फी तिर्न नसकेर पढाइ छाडी। अब अरु छोराछोरीलाई पनि कसरी पढाउँ। साहुले जग्गा लिलामी गर्छु भनेको छ,’ उनले दुखेसो पोखिन्।
०००
नवलपरासी, बर्दघाट सुस्ताका शिवप्रताप सहानीको दु:ख पनि उस्तै छ। उनी कक्षा १० मा पढ्दै थिए। घरको आर्थिक अवस्था कमजोर थियो। त्यसपछि उनी पढाइ छाडेर गाउँमै ज्याला मजदुरी गर्न थाले। केही समयमा विवाह गरे। तीन सन्तान जन्मिए। ज्याला मजदुरी गरेको कमाइले परिवारमा खान-लाउन त पुगेकै थियो। तर छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्था थिएन। त्यसपछि उनले वैदेशिक रोजगारीमा जाने सोच बनाए।
‘विदेश जाने रकम पनि थिएन। साहुसँग ९५ हजार रुपैयाँ ऋण लिएर भएको ३ धुर जग्गा दृष्टिबन्धक राखी जगदीश बानियाँको नाममा छिनुवा पास गरिदिएँ। त्यसपछि साउदी गएँ,’ उनी सुनाउँछन्।
९५ हजार रुपैयाँको सयकडा ५ रुपैयाँ ब्याज मासिक रुपमा तिर्ने गरी उनले मुल सडकको छेउमा भएको ३ धुर जग्गा दृष्टिबन्धक राखेर ऋण लिएर साउदी गए। साउदीमा उनले सामान लोडअनलोड गर्ने मेसिन (क्रेन) चलाउँथे। मासिक कमाइ नेपाली ३० हजार रुपैयाँ कमाउँथे। त्यो कमाइबाट उनले महिनामा २५ हजार रुपैयाँ कहिले २० हजार रुपैयाँ घरमा पठाउने गर्थे।
उनले दुई वर्षपछि साहु जगदीशलाई ९५ हजार रुपैयाँ बुझाए। 

‘साहुले सावाँ–ब्याज जोडेर ६ लाख पुगेको बताए। त्यसपछि कहिले ५० हजार त कहिले ६० हजार तिर्दै चार वर्ष भित्रमा ४ लाख ७० हजार रुपैयाँ बुझाएँ। साउदीबाट नेपाल आउँदा खाली हात फर्किएँ। न कमाइ गरेर बचाउन सकियो। न साहुको ऋण तिर्न नै,’ उनले भने।
४ वर्षपछि साउदीबाट नेपाल फर्किए। त्यसपछि उनले साहुलाई आफ्नो जग्गा फिर्ता गर्न भने तर साहुले अझै डेढ लाख रुपैयाँ बाँकी रहेको र त्यति बुझाएपछि जग्गा फिर्ता गरिदिने भने। ‘जगदीश साहुले गाउँका थुप्रै ऋणीहरुसँग जग्गा फिर्ता गरिदिने भनेर थुप्रै रकम माग्ने तर जग्गा फिर्ता नगर्ने गरिरहेको रहेछ। त्यसपछि डेढ लाख रुपैयाँ बुझाइँन। साहुले पनि जग्गा फिर्ता गरेन। त्यहीँ मेरो घर छ। त्यति जग्गा भएको पनि साहुको नाममा छ,’ उनले भने।
त्यसपछि उनले त्यही घरमा सानो पान पसल खोले। त्यहीबाट थोरै भए पनि कमाइ हुन थाल्यो। त्यही कमाएको पैसाले उनले एउटा भैँसी किनेको छन्। त्यो भैँसीको दूधबाट अहिले थोरै राहत मिलेको बताउँछन्। 
‘पान पसलबाट महिनामा सात आठ हजार कमाइ हुन्छ। अब साहुको अरु ऋण तिर्न भैँसी बेचेर छोरालाई विदेश पठाउन खोज्दैछु,’ उनले भने।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।