काठमाडौं– काठमाडौंका रविन अमात्य आइएसीपश्चात् सन् १९९१मा अमेरिका गए।
त्यहाँ उनले फेसन इन्स्टिच्यूुड टेक्नोलोजी युनीभर्सीटीमा प्रोडक्सन म्यानेजमेन्ट अध्ययन गरे। स्नातक तहको अध्ययनपछि उनी १९९७ मा नेपाल फर्किए।
नेपाल आएपछि गार्मेन्टमा फेसन रिलेटेड काम सुरु गरे। त्यसैको साइडमा नेपाली कागज बनाउने उद्योगमा समेत काम गर्थे उनी। त्यहाँबाट आम्दानी राम्रो थियो। गार्मेन्टमा ६ वर्ष काम गरेपछि फेरि उनी अस्ट्रेलिया पुगे। विदेश आउने जाने क्रम चलिरह्यो।
पढाइको शिलशिलामा अमेरिका, अष्ट्रेलिया, सिंगापुर जस्ता विकसित मुलुकमा पुगेर पनि विदेश बस्न उनले रुचाएनन्। ‘मलाई विदेशी संस्कृति मन परेन, विदेश बसेर डलर कमाउने लोभ पनि लागेन। नेपालमै केही गर्छु भन्ने सोचले फर्किएँ,’ उनी सुनाउँछन्।
नेपाल फर्किएपछि केही समयमा उनी सभा नेपाल नामक संस्थामा जोडिन पुगे। सभा नेपालको प्रोजेक्ट म्यानेजर भएर १२ वर्ष काम गरे।
सभा नेपालले गाउँ–गाउँ गएर गृहिणीको आर्थिक स्तर उकास्न तालिम दिन्थ्यो। ढाका बुन्ने, अल्लोका कपडा बुन्ने जस्ता सीपमूलक तालिमले महिलाहरू आत्मनिर्भर बन्थे।
तालिमका क्रममा उनी ताप्लेजुङ, संखुवासभा लगायत विभिन्न जिल्ला पुगे। त्यहाँ उनले मौलिक संस्कृति तथा परिकारका अनुभव बटुले।
पहाडमा जाँदा त्यहाँको हावापानी राम्रो हुन्थ्यो। खाना पनि स्वादिस्ट पाइन्थे।। ‘काठमाडौंमा धेरै मेहेनत गरेर पकाउँदा पनि खाना स्वादिस्ट पाइन्नन्, जति पहाडमा पाइन्छ,’ भ्रमणको क्रममा उनले अनुभव गरे।
त्यसपछि सोचे, ‘गाउँका मौलिक परम्परा अनुसारका खाना काठमाडौंमा पस्किन पाए पनि हुन्थ्यो!’
रविनले सभा नेपालको तर्फबाट भिलेज क्याफे खोल्ने सल्लाह गरे। मीठो परिकार त गाउँका महिलाहरूले सहजै पकाउन सक्थे। उहाँहरूलाई नै ल्याएर मौलिक परिकार पकाउने उद्देश्यले भिलेज क्याफे खौल्यौँ,’ रविन सम्झन्छन्।
उसो त उनलाई खाना बनाउन एकदम लगाव थियो। नेपालका विभिन्न भूगोलका परिकार एउटै ठाउँमा पस्किने उद्देश्यले क्याफे खोले। सुरुमा नेवारी समुदायबाट नेवारी परिकार सुरु गरे। नेवारी परिकारमा योमरी प्रख्यात थियो।
भिलेज क्याफेको बजारीकरणका लागि विभिन्न ठाउँको प्रदर्शनीमा उनीहरू सहभागी भए। त्यसपछि क्याफे पनि राम्ररी चल्न थाल्यो।
भिलेज क्याफे झम्सिखेलमा अहिले पनि राम्रैसँग चलिरहेको छ। तर त्यहाँ नेवारी परिकार मात्र पाइन्छन्। रविनलाई सबै कल्चरका नेपाली परिकार पस्किने रेस्टुरेन्ट खोल्ने मन भयो।
काठमाडौंको ठमेलस्थित गोकर्ण हाउस रेस्टुरेन्टमा सबै किसिमका परिकार पाइन्थे। उनले गोकर्ण हाउसका सञ्चालकसँग सल्लाह गरेर त्यही नाममा रेस्टुरेन्ट खोले।
रविनको यो रेस्टुरेन्ट अहिले झम्सिखेलमा छ। यो दुई महिनाअघि मात्रै खोलिएको हो।
रेस्टुरेन्ट सुरु गरेको समयमा उनलाई व्यवस्थापनमा कठिन भयो। तालिम प्राप्त सेफले मौलिक परिकार पकाउनेबारे तालिम लिएका हुँदैनन्। मौलिक परिकार पकाउन आफैंले सिकाउनु पर्यो। ‘सेफहरूले पिज्जा बिर्यानी कसरी बनाउने भन्ने तालिम लिएको हुनुहुन्छ। मैले उहाँहरूलाई तालिम बिर्सेर आमा हजुरआमाले पकाए जसरी पकाउनुस् भनेँ,’ उनी भन्छन्।
उनले रेस्टुरेन्टको कामका लागि २७ जना कामदार राखेका छन्। जसमध्ये १२ जना सेफ छन्।
रेस्टुरेन्टमा हिमाली, पहाडी, नेवारी र मधेसी परिकार छन्। जुन परिकार बनाउन चामल मकै, कोदो फापर, जौ, चिनो कागुनो, लट्टे, सिस्नो, गुन्द्रुक, झ्याउ,च्याउ, जस्ता खाद्यान्नबाट बन्छन्।
उनको रेस्टुरेन्टमा बस्ने ठाउँ पनि मौलिक संस्कृति अनुसार तयार पारिएको छ। मधेसी समुदायका लागि खटिया राखिएका छन्। मिथिला समुदायले बसेर खाने ठाउँमा मिथिलाका चित्रले सजाइएका छन्। बाँस प्रयोग गरेर सजावट गरिएको छ। त्यस्तै थारु समुदायको लागि त्यस्तै सजावट छ।
नेवारी समुदायका लागि बस्ने ठाउँ नेवारी कपडाले सजावट गरिएका छन्। हिमाली समुदायका लागि पनि हिमाली संस्कृति झलकाउने सजावट गरिएको छ। पहाडीको लागि पनि उस्तै सजावट गरिएको छ।
यस्तै अबको समयमा यसको शाखा पोखरामा खोल्ने उनको योजना छ। साथै बाहिरी मुलुक अमेरिकामा समेत नेपालका मौलिक परिकार पस्किने उनको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।