काठमाडौं– फागुन २५ मा राष्ट्रपतिका लागि निर्वाचन हुने भएपछि त्यसलाई लिएर मौजुदा राजनीतिक समीकरण उपर नै विभिन्न आशंका हुन थालेका छन्।
उक्त पदका लागि प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले दुई ध्रुवमा रहेकोले तेस्रो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्र निर्णायक बन्र पुगेको छ।
पुष १० मा सत्तारोहण गर्ने बेला माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भनिएको सहमति अनुसार राजनीतिक कोर्स बढेको भए राष्ट्रपति एमालेकै हुनेमा कुनै सन्देह हुने थिएन। तर पुष २६ मा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि लाभको पद बाँडफाँटमा कांग्रेसले पनि भाग दाबी गर्यो।
एकातिर कांग्रेसलाई समेट्न र अर्कोतर्फ सत्ता राजनीतिमा निर्णायक रहने एमालेकाे दवदवा कम गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन्।
सोमबारसम्मको विकसित राजनीतिक घट्नालाई हेर्ने हो भने राष्ट्रपति पदमा माओवादीले कांग्रेसको उम्मेदवारलाई मत दिने सम्भावना बलियो बन्दै गएको छ। संसदीय आंकडाले पनि कांग्रेस र एमाले बाँडिएमा माओवादीको मत निर्णायक हुने स्पष्ट देखिएको छ।
राष्ट्रपति निर्वाचनका लागि को–को हुन्छन् मतदाता?
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको मण्डल हुनेछ। संघीय संसद्मा राष्ट्रिय सभा र प्रतिनिधि सभा छन्। राष्ट्रिय सभाका ५९ सांसद र प्रतिनिधि सभाका २७५ सांसदसहित संघीय संसद्मा ३३४ सदस्य रहेका छन्। त्यस्तै, ७ वटै प्रदेशका कूल ५५० सांसद पनि राष्ट्रपति निर्वाचनका लागि मतदाता रहनेछन्।
फरक–फरक मतभार
समग्रमा ८८४ जना मतदाता रहे पनि संघ र प्रदेशका सांसदको मतभार भने फरक–फरक रहने व्यवस्था छ। संघीय संसद्का प्रत्येक सांसदको ७९ नम्बरको मतभार र प्रदेश सांसदको ४८ नम्बरको मतभार रहने निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ। उल्लेखित मतभार नेपालको जनगणना २०६८ को जनसंख्याको आधारमा निर्धारण गरिएको हो।
२०७८ मा गरिएको जनसंख्याको अन्तिम नतिजा आइनसकेकोले ०६८ कै जनगणनालाई आधार मानिएको निर्वाचन आयोगले बताएको छ। संघ र प्रदेशका सांसदको कूल मतभार ५२ हजार ७८६ हुन आउँछ।
नेपालको संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रपतिमा विजयी हुन कुनै पनि उम्मेदवारले उल्लेखित मतभारको बहुमत ल्याउनुपर्छ। जसका लागि २६ हजार ३९४ मत ल्याउनुपर्ने हुन्छ। तर, राष्ट्रपति निर्वाचनको पहिलो र दोस्रो चरणमा ५० प्रतिशत पनि नकटाएर निर्वाचन तेस्रो चरणमा प्रवेश गर्यो भने कूल सदर मतको धेरै मत ल्याउनेलाई राष्ट्रपतिमा निर्वाचित गरिन्छ।
माओवादी केन्द्र कसरी निर्णायक?
नेपाली कांग्रेस र नेकपा एमाले फरक–फरक कित्ताबाट राष्ट्रपति पदमा आकांक्षी हुँदा माओवादी निर्णायक बन्न पुगेको हो। सतहमा केही नेताहरुको नाम चर्चामा आए पनि उम्मेदवार को हुने भन्ने कुरा यो सप्ताहान्तमा टुंगिने छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आउँदो शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।
वर्तमान संसद्को ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८८ र राष्ट्रिय सभामा १० सहित संघीय सासद्मा ९८ सांसद रहेका छन्। यस्तै, ७ वटै प्रदेश सभामा गरी १७४ सांसद रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसको कूल मतभार १६ हजार १४२ हुन्छ।
त्यस्तै, प्रतिनिधि सभामा ७९ सांसद र राष्ट्रिय सभामा १७ र प्रदेश सभामा १६१ सांसद रहेको नेकपा एमालेको मतभार १५ हजार ३१२ रहेको छ।
माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८४ सांसदको मतभार गणना गर्दा ७ हजार ७४५ रहेको छ। यस्तै, प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका १० सांसद रहेका छन्। प्रदेश सभामा कुनै उम्मेदवार नउठाएको रास्वपाको कूल मतभार १ हजार ५०१ रहेको छ।
त्यस्तै, प्रतिनिधि सभामा १२, राष्ट्रिय सभामा ३, र प्रदेश सभामा २० सांसद रहेको जसपाको २ हजार १४५ मतभार रहेको छ। प्रतिनिधि सभामा १०, राष्ट्रिय सभामा ८, र प्रेदश सभामा २४ सांसद रहेको एकीकृत समाजवादीको कूल मतभार २ हजार ५७४ रहेको छ।
यस्तै, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति, अन्य साना दल र स्वतन्त्र सांसदको कूल मतभार ४ हजार ७५९ रहेको छ। वर्तमान सत्ता साझेदारको मतभारले सत्ता साझेदारको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिन्छ।
तर कांग्रेसको दावी र प्रचण्डको राष्ट्रिय सहमतिको रटानले मौजुदा सत्ता समीकरणमै फेरबदल आउन सक्ने सम्भावना बढेर गएको छ। समीकरणको अदलबदलको राजनीतिले माओवादीलाई निर्णायक स्थानमा पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।