खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीन जना मंगलबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चुइचुम्मा– ४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् ।
गत ३० भदौमा राति रेश्मिका मृतावस्था फेला परेकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुंगाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
यसअघि रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत १ असोजमा पक्राउ गरेर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
परिवारका सदस्यले थप तीन जनाको नाम उल्लेख गरेर गत २१ चैतमा उच्च अदालत ओखलढुंगामा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा अदालतले २८ चैतमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।