नेपालको संविधानको राज्यको निर्देशक सिद्वान्तमा उल्लेख भएको छः गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधारसहितको सडक विकास, यातायात क्षेत्रको सुरक्षित, व्यवस्थित तथा अपांगमैत्री सडक।
विश्वमा सडक दुर्घटनाबाट अकाल मृत्यु हुने कारण ८ औं स्थानमा रहेको छ। तर, नेपालमा भने अकाल मृत्यु हुने विभिन्न कारणमध्ये सडक दुर्घटना पहिलो नम्बरमा पर्छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब ४ हजारभन्दा बढी मानिसहरू सडक दुर्घटनाबाट मृत्यु हुने गरेका छन्। नेपाल प्रहरीको ट्राफिक महाशाखा अनुसार वार्षिक झण्डै ३ हजार मानिस सडक दुर्घटनाबाट मृत्यु भएको बताउँछन्। यसरी अकाल मृत्यु हुने कारणमध्ये सडक दुर्घटना पहिलो कारण बनेको छ।
सडक दुर्घटनाबाट नेपालले वार्षिक झण्डै ३ प्रतिशत जीडीपी गुमाइरहेको हामीले तथ्यांकबाट देखिरहेका छौं। यस्तै, मृत्यु हुनेहरूमा २ पांग्रे साधन (बाइक, स्कुटर) बाट झण्डै ८० प्रतिशत र चारपांग्रेबाट २० प्रतिशत रहेको छ। यो निकै डरलाग्दो तथ्यांक हाम्रा अगाडि छ।
हाम्रा सडकहरूको स्तर कस्तो छ हामीलाई थाहा छँदै छ। दुई पांग्रेबाट निधन हुनेमा औसत १६ देखि २१ वर्ष उमेर समूहका अत्यधिक रहेका छन्। यसको मतलब सडक दुर्घटनाबाट युवा समूहको मृत्यु हुने दर अत्यधिक छ।
विश्वमा झण्डै १३ लाख मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ। धेरै देशले यस्ता दुर्घटना न्यूनीकरणका प्रयास गरिरहेका छन्। स्वीडेन र जर्मनीले सफलता पनि प्राप्त गरेका छन्। तर, नेपालको अवस्था यो रहेको छ।
यसै सन्दर्भमा हेर्दा नेपालमा केही अन्तर्राष्ट्रिय प्रतिबद्वताको कार्यान्वयन भएको छैन। संयुक्त राष्ट्र संघले सन् १९४९ र १९६८ मा विशेष प्रस्ताव पास गरेर इन्टरनेशनल ड्राइभिङ परमीट (आईडीपी) को प्रस्ताव अघि बढाएको छ। साथै यूएन रोड सेफ्टी दशक भनेर सन् २०२१ देखि २०३० लाई घोषणा गरेर अगाडि बढाएको छ।
आज कुनै पनि देशले यूएन डीक्लेरेशनका आधारमा ड्राइभिङ परमीट लाइसेन्स जारी गर्छ, त्यो परमीट लाइसेन्स १११ वटा मुलुकले स्विकारेका छन्। त्यसमा १३५ वटा मुलुक पुग्दै छन्। तर, हामी त्यस भित्र पर्दैनौं। हामीले त्यो लागू गर्नुपर्ने छ।
यस्तै, यूएनकै सडक सुरक्षासम्बन्धी (२०२१–२०३०) दशकका लागि हामीले उल्लेख्य रणनीतिक योजना बनाएका छैनौं। के गर्ने? राष्ट्र संघले भनेको छ, ‘यो दशकमा ५० प्रतिशत दुर्घटना कम गर्ने।’ तर, नेपालमा भने दुर्घटना दर, मृत्यु दर बढिरहेको छ। त्यसकारण यसतर्फ प्रतिनिधि सभाले र सरकारले पनि सोच्नुपर्छ।
यस सम्बन्धमा विभिन्न पहलकदमी भएका छन्। अदालतले फैसला पनि गरेको छ। अघिल्लो संसद्मा विकास समितिले माननीय गणेश पहाडीको संयोजकत्वमा उपसमिति बनाएर सडक दुर्घटना र त्यसबाट मृत्यु कम गर्ने उपायबारे खोजी गरेर प्रतिवेदन बनाएर सरकारलाई बुझाएको थियो। तर, त्यसतर्फ उचित ध्यान गएको हामीले देखेका छैनौं। यो विद्यमान अवस्था छ।
अर्कोतर्फ सडक र यातायातका साधनको समय–समयमा अनुगमन गर्नुपर्ने हो। तर, नेपालमा विडम्बना के छ भने सडक विभागले सडक बनाउँछ र गुणस्तर ठीक छ कि छैन भन्ने कुरा उसैले परीक्षण गर्छ। यातायात विभागले परमीट दिन्छ, लाइसेन्स दिन्छ र ठीक छ कि छैन भनेर पनि उसैले परीक्षण गर्छ। यो दुनियाँमा कहिँ हुँदैन। सडक विभागले बनाएको सडक ठीक छ कि छैन भन्ने नियामक निकाय चाहिन्छ।
आज त्यस्तो निकाय छैन। यसका लागि नियामक निकाय चाहिन्छ। त्यसकारण हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ। त्यो काउन्सिलले सडक विभागले गरेको काम पनि नियमन गर्छ र त्यस्तै यातायात व्यवस्था विभागको कामको पनि अनुगमन गर्छ।
त्यस्तै, अर्कोतर्फ हामीले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने छ। र रोड सेफ्टी एक्सन प्लानलाई अगाडि बढाउनु पर्नेछ। रोड सेफ्टी काउन्सिल ऐनकाे मस्यौदा गर्नुपर्ने छ।
विश्व स्वास्थ्य संगठनको एक अध्ययनले के देखाउँछ भने दुई पांग्रे सवारीसाधनमा मृत्यु हुनेको मुख्य कारण भनेको हेल्मेटको गुणस्तर हो। ७० प्रतिशत मानिसहरु कमजोर हेल्मेट लगाएका कारण मृत्युको मुखमा पुगेका छन्।
अधिकांश दुई पांग्रे सवारी साधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ, जोसँग हेल्मेट हुँदैन। यस्तै, सहरमा सुरक्षित साइकल लेन, अपाङ्गमैत्री सडक र फुटपाथका कुराहरू पनि छन्। तर, हाम्रा कुनै पनि सहर अपाङ्गमैत्री छैनन्। त्यतातिर हामीले ध्यान दिनुपर्ने छ। आधुनिक र सभ्य सहर बनाउनु पर्नेछ। सडक अनुशासनको कुराहरू छलफल गर्नु पर्नेछ।
अटो लेनको व्यवस्था गर्ने, यातायात क्षेत्रका श्रमिकका मागलाई उचित सम्बोधन गर्ने, त्यस्तै सवारी परीक्षण केन्द्रको स्थापना गर्ने, सडक बीमाका कुरा छन्, साथै दुर्घटनापश्चातको उद्धार, उपचार र पुनर्स्थापनामा ध्यान दिनु पर्नेछ। सडक मान्छेको जिवनयापनको सजिलो माध्यम हो, जिवनशाला हो। नेपालका सडकलाई बधशाला हुनबाट जोगाउनुपर्छ, जीवनशाला बनाउनुपर्छ।
(सांसद भट्टराईले बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर राखेको मन्तव्य)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।