काठमाडौं –सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।
बिहान आएको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने भनिएकोमा त्यसलाई अहिले सच्याइएको हो ।
प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ । आज बिहान तय भएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीको दोस्रो नम्बरमा यो विषय छ ।
कार्यसूचीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने ।’
नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह खोजिरहेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।
प्रधानमन्त्रीले नै नीति तथा छलफल माथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो । पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेवल गर्न दिन तयार भए पनि छलफलमा तथा जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा रहेका थिए ।सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताएका थिए । तर प्रधानमन्त्री आज पनि संसद आउन तयार भएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।