सिमान्त मान्छे–१
मैले चखेवा देखेको छैन !
आँगनको छेउमै रहेको आरुको बूढो रूखमा
हरेक दिन आउने तन्नेरी भँगेरा देखेको छु!
र, देखेको छु उनीहरूको प्रेम!
बिहानै!
मेरो छानो भएर उड्ने
छिमेकीका एक जोडी परेवा;
जो मेरै आँगन भएर फर्किन्छ्न्-चारो बोकेर,
जसलाई मैले देखेको छु!
गोठमा भर्खर तीन दिन पुगेको बाच्छो छ
सुत्केरी गाईले दुध चुसाउँदै गरेको
र, चाट्दै गरेको देखेको छु!
बाउसाब ! हो यही बेला-
पोहोर बच्चा जन्माउन नसकेर मरेकी
मेरी स्वास्नी पुतलीलाई सम्झिन्छु
भोकले अङ्गार चपाइरहेकी
तीन वर्षीया सानी छोरीलाई सम्झिन्छु
र, पाँच वर्षअघि
पखालाले खाएको मेरो छोरालाई सम्झिन्छु!
तर, बाबुसाब!
मलाई कहिल्यै नचिन्ने सरकारलाई किन सम्झिनू!
म त सुदूर भूगोलको सिमान्त मान्छे!
सिमान्त मान्छे–२
जिन्दगीको मूल्य हुनलाई
मृत्युको पनि मूल्य हुनुपर्ने रहेछ!
मृत्युको मूल्य हुनलाई
जिन्दगीको पनि मूल्य हुनुपर्ने रहेछ!
म कयौंपटक मूल्यहीन भएर मरेको छु
कयौंपटक मूल्यहीन भएर बाँचेको छु
छोराले-
हट् घोडा हट् ! भन्दै
मेरो पिठ्युँ चढ्दा
म कयौंपटक घोडा भएको छु
एउटा खच्चड जिन्दगी बाँचेको म
साँझ घर पुग्दा -
कमसेकम घोडा हुने सौभाग्य पाउँछु!
परार भाँचिएको बायाँ गोलीगाँठो
पोहोर भाँचिएको दायाँ घुँडा
घोडा बन्दै गर्दा किन दर्द मान्दैनन्?
दिनभरि भारी थेगेको पिठ्युँ
किन थाक्दैन– मेरो छोराले बुर्कुसी मार्दा?
छोराको भात खाने रहरका लागि
म कतिपटक बाँचे हुँला,
कतिपटक मरे हुँला,
छोरीको रिबन किन्न नसकेर
म कतिपटक मरे हुँला,
कतिपटक बाँचे हुँला?
`म्याद गुज्रेको´ सिटामोलका लागि,
एक पुरिया जीवनजलका लागि,
एक बोत्तल स्लाइनका लागि,
मैले कति बाटो हिँडे हुँला?
सरकार ! के यसको हिसाब तिमीसित छ?
म त सुदूर भूगोलको सिमान्त मान्छे !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।