काठमाडौं– ब्राजिल र अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन्। प्रायः यी दुई टोलीबीच फुटबल मैदानमा भेट हुँदा तनावपूर्ण स्थिति सिर्जना हुने गर्छ।
अधिकांश ब्राजिलियन अर्जेन्टिनाले विश्वकप जितेको हेर्न पनि चाहँदैनन्।
तर, ब्राजिली फुटबल संघ (बिसिएफ)का उपाध्यक्ष फर्नान्डो सर्नेले भने आफूले अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहेको बताएका छन्।
सन् २००२ पछि कुनै पनि दक्षिण अमेरिकी देशले विश्वकप जित्न नसकेकाले ब्राजिल बाहिरिइसकेको अवस्थामा आफू अर्जेन्टिनाको पक्षमा लागेको उपाध्यक्ष सर्नेले बताएका छन्।
‘अहिलेको अवस्थामा हामी (ब्राजिल र अर्जेन्टिना)ले एकता कायम राख्नुपर्छ। यसर्थ, हामी सबै अर्जेन्टिनाका समर्थक हौँ। मलाई आशा छ कि, उनीहरूले यो पटक विश्वकपको उपाधि दक्षिण अमेरिकामा ल्याउनेछन्,’ ब्राजिलकै एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेका छन्।
लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप जित्नबाट अब २ खेलमात्र टाढा छ। मंगलबार राति अर्जेन्टिनाले क्रोएसियासँग फाइनल प्रवेशका लागि खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।