काठमाडौं– अर्जेन्टिनाका 'महान' फुटबलर स्व डिएगो म्याराडोना र वर्तमान कप्तान लियोनल मेसीको खेल्नेशैली उस्तै छ। यसर्थ, यी दुईबीच धेरै विषयमा तुलना गरिन्छ। को उत्कृष्ट भनेर बहस नै गर्ने गरिन्छ। र, निचोड निकालिन्छ, म्याराडोनासँग विश्वकपको उपाधि छ मेसीसँग छैन।
म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो। यता, मेसी सन् २०१४ को विश्वकपमा उपाधि चुम्नबाट मात्र १ खेलले चुकेका थिए। उनको कप्तानीमा रहेको अर्जेन्टिनी टोली फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो। उनकै नेतृत्वमा रहेको अर्जेन्टिना कतारमा जारी विश्वकपको सेमिफाइनलमा पुगिसकेको छ। यसर्थ, उनले अझै विश्वकप जित्ने अवसर छ। यस्तो भएका मेसी उपाधिका हिसाबले म्याराडोनाभन्दा अगाडि हुनेछन्। किनकि, म्याराडोनाले कोपा अमेरिका, च्याम्पियन्स लिगजस्ता उपाधि जित्न सकेनन् जो मेसीको नाममा छन्।

विश्वकपमा गरेको प्रदर्शन हेर्ने हो भने पनि यी दुईबीच रोमाञ्चक आँकडा छ। म्याराडोनाले ४ वटा विश्वकप खेले भने मेसीले ५ वटा खेलिसकेका छन्। यस क्रममा म्याराडोनाले विश्वकपका २१ खेल खेले यसमा पनि मेसी अगाछि छन्। उनले २४ वटा खेलिसकेका छन्। अब मंगलबार २५ पुग्ने निश्चित छ। सेमिफाइनलमा जितेमा मेसीले फाइनल खेल्नेछन् र हारेमा पनि तेस्रो स्थानको प्ले अफ खेल्ने छन्। यसर्थ, मेसीले यस विश्वकपमा २६ खेलको कीर्तिमान बनाउने निश्चित छ। जो विश्वकपको इतिहासमै सर्वाधिक हो।
म्याराडोनाले विश्वकपमा खेलेका २१ खेलमध्ये १२ मा जित ४ मा बराबरी र ५ मा हार ब्यहारेका छन्। जितमा पनि मेसी अगाडि देखिएका छन्। मेसीले २४ खेलमध्ये १५ मा जित ४ मा बराबरी र ५ मा हार ब्यहोरेका छन्।
यस्तै, गोलमा पनि मेसी अगाडि देखिएका छन्। म्याराडोनाले ८ गोल गर्दा मेसीले त्योभन्दा २ बढी अर्थात १० गोल गरिसकेका छन्। असिस्टमा भने म्याराडोना १ ले अगाडि छन्। म्याराडोनाले ८ असिस्ट गर्दा मेसीले ७ मात्र गरेका छन्।
आँकडासहितको तस्बिर साभार: गोल डट कम।औसत् गोल भने दुवैको बराबरी छ। दुवैले प्रतिखेल ०.४ प्रतिशत गोल गरेका छन्। तर, अस्टिमा भने म्यारानोडा ०.१ ले अगाछि छन्। म्याराडोनाले प्रतिखेल ०.४ असिस्ट गर्दा मेसीले ०.३ असिस्ट गरेका छन्। मेसीले अझै विश्वकपमा २ खेल खेल्न बाँकी रहेकाले केही दिनभित्रै यो आँकडा तलमाथि हुन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।