काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाअधिवेशन शनिबार सकिएको छ। पार्टी स्थापना भएको १०० वर्षको अवसरमा भएको यो महाअधिवेशन निकै महत्वपूर्ण रहेको थियो।
त्यसो त पश्चिमाहरु, विशेषगरी अमेरिकासँग विकसित हुँदै गरेको द्वन्द्वअन्मुख सम्बन्ध र राष्ट्रपतिमा सी चिन फिङ तेस्रो कार्यकालका लागि अनुमोदन हुने लगायतको पृष्ठभूमिमा एक हप्तासम्म चलेको उक्त महाधिवेशनको अन्त्यसम्म आइपुग्दा केही सम्झनालायक दृश्यहरू देखिएका छन्।
एक शताब्दीको एतिहास बोकेको यो पार्टीको स्थायी कमिटीमा महिलाहरुको सहभागिता शुन्य रहने परम्पराले यो महाअधिवेशनमा पनि निन्तरता पाएको छ। यो चीनलाई शासन गर्ने सर्वोच्च कमिटी हो। त्यसो त सन् १९९७ पछि पहिलोपटक पोलिटब्यूरो पनि ‘महिलाविहीन’ भएको छ। गार्डियनकी पत्रकार एम्मा ग्राहमले सीपीसीको यो निर्णयलाई लिएर अन्य धेरै समस्या जस्तै सीको शासन स्वाभाविक रुपले महिलाद्वेषि रहेको टिप्पणी गरेकी छन्।

यस्तै, यो महाअधिवशेनबाट गठित ७ सदस्यीय स्थायी कमिटीमा सबै नेताहरू ६० वर्ष माथिका छन्। यसमध्ये राष्ट्रपति तथा पार्टी महासचिव सी चिन फिङ सबैभन्दा पाका छन्। उनी ६९ बर्षका छन्। त्यस्तै, दोस्रो नेता प्रधमामन्त्री ली चियाङ ६३ वर्षका रहेका छन्। त्यस्तै, वाङ हुनिङ ६७, ली सी ६६, छाइ छी ६६, चाउ ल ची ६५ र तिङ स्ये स्याङ ६० वर्षका रहेका छन्।
महाधिवेशनको अन्तिम दिन शनिबारको एक दृश्यले भने विश्वकै ध्यान खिचेको छ। राष्ट्रपति सी छेउ बसेका पूर्व राष्ट्रपति हु जिन्ताओलाई बैठक स्थलबाट बाहिर निकालिएको भिडिओ सार्वजनिक भयो। यद्यपि हुलाई निकालिएको विषयमा भने अनेक धारणा सार्वजनिक भएका छन्।

चीन नियन्त्रित संचारमाध्यमले भने हु अस्वस्थ्य रहेकोले आरामका लागि बाहिर निकालिएको बताएको छ। तर यसलाई पुष्टि गर्ने पर्याप्त आधार भने सार्वजनिक भएका छैनन्।
७९ वर्षीय नेता हु बैठक कक्षको अघिल्लो भागमा थिए। सी सँगै रहेका हुलाई एक नेताले समाएर उठाउन खोजेको भिडियोमा देखिन्छ। सुरुमा हु उठ्न तयार हुँदैनन्। छेउमै रहेका राष्ट्रपति सी र निर्वतमान प्रधानमन्त्री ली खछ्याङलाई केही संवाद गर्न खोज्दै गर्दा उनलाई हलबाट बाहिर निकलिएको भडिओमा देखिन्छ। यसबारेका दुई नेताले खास प्रतिक्रिया दिँदैनन्। उक्त घटनालाई केही पश्चिमा संचारमाध्यमले भने चीनको ‘वास्तविक अनुहार’ भनेर टिप्पणी गरेका छन्।
सीपीसीको २० औं माहाअधिवेशनपछि राष्ट्रपति सीले मुलुकको चौतर्फी निर्माण, चिनियाँ राष्ट्रको महान् पुनरूत्थानको चौतर्फी प्रवर्द्धन एवम् चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ विजय हासिल गर्नको लागि २०औं महाअधिवेशनले महत्वपूर्ण मार्गदर्शन गर्ने बताए। उनले चिनियाँ कम्युनिस्ट पार्टीले एक शताब्दी लामो यात्रा गरेको र नयाँ परीक्षाको बाटोमा अघि बढ्दै जाने पनि बताए।
उक्त महाअधिवेशनले १९औं महाअधिवेशनबाट अनुमोदित, राष्ट्रपति सी ले अघि सारेको सी विचारधारालाई थप विस्तार गर्ने बताइएको छ। यसले तेस्रो कार्यकालका लागि राष्ट्रपति भएका सी थप शक्तिसाली भएका बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।