काठमाडौं– एमालेसँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै सचेतनापत्र बुझाउने राप्रपाका १८ जना केन्द्रीय सदस्यलाई अध्यक्ष राजेन्द्र लिङ्देनले विगतका गलत प्रवृत्तिका अवशेषहरू भनेका छन्। बिहीबार झापामा नेपाल लाइभलाई दिएको अन्तर्वार्तामा उनले त्यस्तो प्रवृत्तिले कहिलेकाहीँ टाउको उठाउने बताए।
सचेतनापत्रमा १६५ निर्वाचन क्षेत्रमध्ये केवल ३ स्थानका लागि मात्र जनताबाट विश्वास गुमाएको र आफ्नो पार्टी र नेतृत्वबाट अपवित्र घोषणा गरेकोमध्ये एउटा दल एमालेसँग तालमेलको सम्झौता गर्नु अनुचित भएको उल्लेख छ। पार्टीले बुझाएको समानुपातिक सूचीप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ।
लिङ्देनले चुनावमा उठ्न नजाने, जनताको बीचमा भोट माग्न नजाने तर जनताले भोट दिइहाल्यो भने त्यसको लाभ लिन पाइन्छ कि भनेर ढुकेर बस्ने प्रवृत्ति राप्रपामा रहेको बताए। ’अहिले पार्टीको महत्वपूर्ण पदमा बसेको छु, हामी जिम्मेवार छौं, हाम्रो अपमान भयो भन्ने साथीहरू आफू उम्मेदवार बन्न जानुभएको छैन। कतिले उम्मेदवार उठाउनुभएको छैन। अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लहर आयो, ती साथीहरू समानुपातिकमा परेर फेरि पनि तर मार्न पाइन्छ कि भन्ने सोचमा हुनुहुन्थ्यो होला। त्यस्ता साथीको नाम पर्न सकेन,’ उनले भने।
असन्तुष्टि व्यक्त गर्नुपर्ने भए तालमेल गरेर जहाँ एमालेलाई सघाउने निर्णय भएको छ, त्यस ठाउँका साथीहरूले गर्नुपर्ने लिङ्देनको तर्क छ।
’जहाँ हामीले एमालेलाई सहयोग गर्ने निर्णय गरेका छौँ। त्यस ठाउँका साथीहरूलाई कुनै खालको गुनासो छैन। कुनै प्रकारको असन्तुष्टि पनि छैन। त्यहाँ एमालेलाई साथीहरूले सघाइरहनु पनि भएको छ’, उनले भने, ’कुनै सम्बन्ध नै नभएको, आफू उम्मेदवार बन्ने चाहना नै नभएको, आफू उम्मेदवार पनि नभएको, आफ्नो निर्वाचन क्षेत्रमा एमालेलाई मत दिनुपर्ने अवस्था पनि नभएको र आफैंले आफैंलाई मत दिनुपर्ने, आफ्नै पार्टीलाई मत दिनुपर्ने साथीहरूले गुनासो पोख्नुभएको छ। त्यसको कुनै अर्थ पनि छैन।’
लिङ्देनसँगको अन्तर्वार्ता शुक्रबार बिहान नेपाल लाइभमा प्रकाशित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।