भक्तपुर– नेपालीहरुको महान चाड दीपावलीको चहलपहल सुरु भएसँगै भक्तपुरका प्रजापती समुदाय पाला बनाउन व्यस्त भएका छन्।
तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापती समुदाय व्यस्त भएका हुन्। गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापती समुदायलाई फुर्सद छैन। परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन्।
काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरुको माग आएपछि सो समुदायलाई अहिले भ्याइनभ्याइ भएको हो। अहिले भक्तपुर र थिमिका प्रजापतीले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले माटोका भाँडा बनाउन व्यस्त छन्।
भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भएपनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा धेरै मानिसहरू पुग्ने गर्छन्।
तिहारका लागि अधिक माग हुने दियो र पालाको माग बाहिरी जिल्लाहरुबाट पनि अत्याधिक आइरहेको स्थानीयहरुले बताए। अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढेको उनीहरुको भनाइ छ।
माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन्। माटोका पालाको माग भक्तपुरमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमासमेत बढेकाले पाला बनाउन भ्याइनभ्याइ भएको उनीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।