काठमाडौं– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
नेपाल म्युजिक भिडियो निर्देशक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शर्माले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गरे।
चलचित्र र म्युजिक भिडियोको महत्त्व समान रहेको उनको भनाइ छ। उनले गीत नभइ चलचित्र पूर्ण हुन नसक्ने भन्दै गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए।
त्यस्तै, समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनीहरुका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताए। उनले म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको बताए।
कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिले एउटा चलचित्रकर्मीले बनाएको फिल्ममा अर्कोले खुट्टा तान्ने काम भइरहेको बताए। नेपाल म्युजिक भिडियो निर्देशक समाजले नेपाली म्युजिक भिडियो क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गरेको थियो।
वरिष्ठ म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पु¥याएको योगदानस्वरुप विशिष्ट सम्मान गरिएको थियो। समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरु वरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा चलचित्रका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव बिकलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।