काठमाडौं– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।
युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष महेश्वर गहतराजले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्वीकार गरेकी हुन्।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री गहतराजले राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रणापत्र समेत प्रदान गरे।
यही असोज २८ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ। यस्तै, कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।
प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताका लागि सोमबारसम्म करिब ५५ सय खेलाडीहरुको नाम दर्ता भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।