काठमाडौं– हिरा लुटपाटमा दोषी ठहर भएका व्यक्तिको जन्मदिनमा श्रम तथा रोजगारमन्त्री नै प्रमुख अतिथि बनेको पाइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर हिरा लुटपाटमा दोषी ठहर भएर दुई वर्ष कैद समेत बसेर छुटेका व्यक्ति सुजन आचार्यको जन्मदिनमा प्रमुख अतिथि बनेका हुन्।
काठमाडौं एक पाँचतारे होटलमा जन्मदिन मनाएका आपराधिक पृष्ठभूमिका आचार्यको जन्मदिन मनाउन मन्त्री नै पुगेका थिए। प्रमुख अतिथि बनेर पुगेका मन्त्री कुँवरले संक्षिप्त मन्तव्य राख्दै आचार्यलाई युवा व्यवसायी भन्दै प्रशंसा समेत गरेका थिए।
‘टिभी टुडेका अध्यक्षज्यू, प्रधान सम्पादकज्यू, युवा व्यवसायी सुजन आचार्यलाईलाई हार्दिक बधाई दिन चाहान्छु’, मन्त्री कुँवरले भनेका छन्, ‘अरु देशका मान्छेले १५ वर्षमा यति बिलियन डलर कमायो, २० वर्षमा यति बिलियन डलर कमायो भनेर पढिन्थ्यो। आज आफ्नै अगाडि २२ वर्षीय युवा सुनौला सपना देखेर अगाडि आएको छ।’
मन्त्रीले युवा व्यवसायी भन्दै प्रशंसा गरेका आचार्य भने केही समयअघि पनि पक्राउ परेका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा पक्राउ गरेको थियो।
एक युवतीको गोप्य भिडियो फेला पारेपछि त्यही भिडियोको आधारमा ७ करोड रुपैयाँसम्म बार्गेनिङ गरेपछि उनी पक्राउ परेका थिए। पछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी धरौटीमा रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।