काठमाडौं– युवतीको अश्लिल भिडियोमार्फत ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा पक्राउ परेकाहरुलाई धरौटीमा रिहा भएका छन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको इजलासले सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तीन जनालाई जनही साढे २ लाख, दुई जनालाई जनही २ लाख र बाँकी दुई जना जनही एक÷एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता गंगा पौडेलले नेपाललाइभलाई जानकारी दिए।
अदालतको आदेशपछि उनीहरु तोकिएको धरौटी बुझाएर रिहा भएका छन्। चितवनको भरतपुर–११ घर भइ काठमाडौंको सिनामंगल बस्ने ३२ वर्षीय वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगल बस्ने ३३ वर्षीय श्रवण कार्की जनही एक लाख धरौटीमा रिहा भएका हुन्।
बझाङको खप्तडछान्ना–७ घर भइ काठमाडौंको कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा र कालीकोटको सान्नित्रिवेणी–८ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने २९ वर्षीय टेक विक जनही दुई लाख धरौटीमा रिहा भएका छन्।
यस्तै उदयपुरको त्रियुगा–१० घर भइ हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, काभ्रेको तेमाल–२ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३३ वर्षीय रमेश भण्डारी र गुल्मीको धुरकोट–२ घर भइ काठमाडौंको रातोपुल बस्ने २९ वर्षीया बसन्ता खनाल जनही साढे २ लाख धरौटीमा तिरेर रिहा भए।
उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुमरमा मुद्दा चलाइएको थियो। उनीहरु मध्ये केही पत्रकार समेत हुन्।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट गत जेठ १३ गते ७ जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका सुजन आचार्य यसअघि पनि नक्कली हिरा देखाएर ठगी गरेको तथा लुटपाटको आरोपमा मकवानपुरमा पक्राउ परेका थिए। आफू पत्रकार हुँ भन्दै उनले अरु व्यक्तिलाई पनि ठगी गरेको देखिएको थियो।
यस्तै, कालीकोटका टेक विक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको खुलेको थियो। यसअघि उनी नेकपा एमालेका नेता तथा सांसद् गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको आरोपमा पनि पक्राउ परेका थिए।
एक युवतीले आफ्नो ल्यापट बिग्रिएपछि मर्मतका लागि दिएकी थिइन्। मर्मत गर्ने ठाउँबाट ती युवतीको अश्लिल भिडियो यो समूहले हात पारेको अनुसन्धानबाट खुलेको थियो।
ल्यापटप मर्मत गर्ने क्रममा अश्लिल भिडियो भेटेपछि यो गिरोहसम्म उक्त भिडियो पुगेको थियो। त्यसपछि उनीहरुले त्यही भिडियोमार्फत ती युवतीसँग ७ करोड रुपैयाँ बार्गेनिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।