उदयपुर– उदयपुरमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आइतबार राति करिब २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पार्किङ गरी राखिएको बा.१४ च २२५५ नम्बरको बोलेरो गाडी जाँच गरेको थियो। जाँचका क्रममा २९ वटा बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न व्यक्तिहरू फरार छन्।
त्यस्तै, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट १०० किलो गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राई पक्राउ परेका छन्।
आइतबार राति करिब १०ः२० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनी तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गर्दा पक्राउ परेका हुन्।
दुवै स्थानबाट बरामद गाँजाको कुल तौल एक हजार ४० किलो ४४० ग्राम रहेको छ। पक्राउ परेका राईलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ भने बोलेरोमा गाँजा बरामद भएको घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।