काठमाडौं– लुटपाटमा संलग्न तीन प्रहरीसहित एक पत्रकारलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। लुट्नकै लागि काठमाडौंदेखि मकवानपुर पुगेका दरबारमार्ग वृत्तमा कार्यरत २६ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेल, दरबारमार्गमै कार्यरत प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुनमगर तथा पत्रकार भनिने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो।
राजन भनिने अर्का एक व्यक्ति भने फरार रहेका छन्। मकवानपुरको कैलाश गाउँपालिका– ५ चौकीटार घर भएकी ७० वर्षीया धनलक्ष्मी गुरुङको घरमा बहुमुल्य हिरा भएको सूचना पाएपछि यो समूह आइतबार काठमाडौंबाट मकवानपुर पुगेको थियो।
मकवानपुरका एसपी सुशीलसिंह रौठारका अनुसार उनीहरु गुरुङको घरमा गएर हिरा किन्ने भन्दै हेरेका थिए। त्यसपछि उनीहरुले पेस्तोल ताक्दै हिरा जस्तो देखिने वस्तु लुटेर फरार भएका थिए। उक्त सूचना इलाका प्रहरी कार्यालय पालुङमा आएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो। पालुङका इन्सपेक्टर विकासकुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई थाहा नगरपालिका–३ स्थित थानाबजारबाट पक्राउ गरेको हो।
प्रदेश ३–०१ –०२२ च ३३ ६२ नम्बरको फोर्ड कम्पनीको गाडीमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरुको साथबाट लुटिएको हिरा जस्तो टल्कन वस्तु, चाइनिज पेस्तोल एक थान, यसको म्याग्जिन १ थान, गोली ७ राउण्ड, जिइएम आइडिन्टीफिकेशन रिपोर्ट १ थान, ह्याण्डसेट मोटोराला ४ थान, ल्यापटप १ थान, झोला २ थान, क्यानोनको क्यामेरा १ थान, क्यामेराको लेन्स र झोला १/१ थान, मोबाइल ७ थान, पावर ब्यांक र चार्जर १/१ थान र सिडी १ थान बरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि डाका कसुरमा अनुसन्धान सुरु भएको छ। उक्त कसुर पुष्टि भएमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै प्रहरीमा आबद्ध उनीहरु अहिले नै स्वतm निलम्बनमा परिसकेका छन्। आरोप पुष्टि भएको अवस्थामा उनीहरुको जागिरसमेत जान्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।