काठमाडौं– सुडानमा अविरल वर्षा र बाढीबाट कम्तिमा पनि ८३ जनाको ज्यान गएको छ। प्राप्त समाचारअनुसार सोमबार रातिसम्म कम्तिमा पनि ८३ जनाको ज्यान गएको हो।
बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ। त्यसैगरी यहाँका कम्तिमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएको छ।
केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजार जना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्रै सारिएको छ। यहाँका मौसमसम्बन्धी अधिकारीहरुले सन् १९४६ पछि पहिलोपटक सुडानका नदीहरुमा पानीको सतह धेरै बढेको जनाएका छन्।
बाढीका कारण यहाँका कम्तिमा ६ राज्यमा आपतकालको घोषणा पनि गरिएको छ। अत्यधिक वर्षापछि आएको बाढीका कारण संकट उत्पन्न भएको सुडानको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ।
नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ। बाढीको प्रभाव बढी भएका यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो।
प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिएको र आवश्यक सहयोगको प्रबन्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ। स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।