काठमाडौं– भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्मको सेन्टर गर्ने ‘केन्द्रीय चलचित्र जाँच समिति’ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो।
फिल्मले युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यसलाई सबैले हेर्न पाउनेछन्। दिनेश राउतको निर्देशनमा बनेको यो फिल्ममा कर्णालीमा शिक्षक बन्नका लागि संघर्ष गरेको एक युवकको कथालाई देखाइएको छ।
फिल्ममा प्रदीप खड्का मुख्य भूमिका निभाउँदै ‘प्रकाश’को रुपमा देखिएका छन्। त्यस्तै, फिल्ममा अभिनेत्री दिया मास्के सीताको भूमिकामा देखिएकी छिन्, जो प्रकाशकी आमा हुन्छिन्।
यी बाहेक फिल्ममा रेनु योगी, राजन खतिवडा, प्रकाश घिमिरेलगायतका कलाकारहरको अभिनय रहेको छ।
दिनेश राउतको निर्देशनमा बनेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। विकास सुवेदीको कथामा आधारित रहेको फिल्म बिनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।