काठमाडौं–साउनको २७ दिनमै वाणिज्य बैंकहरुबाट १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप घटेको छ। सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले गत असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।
साउन २७ गतेसम्म आइपुग्दा निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ। साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ, तेस्रो साता ४ अर्ब रुपैयाँ र चौथो साता २५ अर्ब निक्षेप घटेको छ।
यता बैंकहरुको कर्जा लगानी पनि खासै बढेको देखिदैन। यो २७ दिनमा बैंकहरुको नयाँ कर्जा ठप्प नै रहेको संघको तथ्यांकले देखाएको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
गत असार मसान्तसम्मको कुल कर्जामा साउन ६ गतेसम्म १० अर्ब रुपैयाँ, साउन १३ गतेसम्म ११ अर्ब र साउन २० गतेसम्म ९ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित भएको थियो। पछिल्लो ७ दिनमा ९ अर्ब रुपैयाँ थप कर्जा प्रवाह हुँदा असार मसान्तसम्म प्रवाहित कर्जाको परिमाणमा बराबरी भएको हो।
यसैगरी, असारमसान्तसम्म सीडी रेसियो घटाएका बैंकहरुको सीडी रेसियो साउन २७ गतेसम्म आउँदा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.३५ प्रतिशत छ। वाणिज्य बैंकहरुको औसत सीडी रेसियो गत असार मसान्तसम्म ८६.४१ प्रतिशत, साउन ६ गतेसम्म ८७.७५ प्रतिशत, साउन १३ गतेसम्म ८७.९८ प्रतिशत र साउन २० गतेसम्म ८७.६९ प्रतिशत कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।