काठमाडौं– करिब डेढ वर्षअघि नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप विजेता प्रशिक्षक डेभ वाट्मोरलाई ल्याउँदै गर्दा उनीमाथि चुनौतीको चाङ थियो।
अस्ट्रेलियाली प्रशिक्षकसामू सन् २०१८ मा पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुपर्ने चुनौती मात्रै थिएन, साथै यसैवर्ष आयोजना हुने टी–२० विश्वकपमा नेपाललाई पुर्याउनुपर्ने जिम्मेवारी पनि थियो। तर, एक वर्षको लागि क्यानले नियुक्त गरेका वाट्मोर सम्झौता नसकिँदै राजीनामा दिएर हिँड्न बाध्य भए।
त्यतिखेर वाट्मोर भन्थे, ‘नेपालमा प्रतिभावान् खेलाडी छन्। तर, असहयोग पनि उत्तिकै छ। त्यसमाथि आइपर्ने दबाब झेल्न निक्कै गाह्रो।’ उनले यसो भनिरहँदा क्यानकै पदाधिकारी आफ्नो ‘डिफेन्स’मा मात्रै उत्रिँदैन थिए उनलाई नै निकाल्नुपर्ने आवाजसम्म उठाउँथे। उनीहरुको प्रयास सफल नभएको पनि होइन। तर, यही प्रवृत्तिले नेपालले विश्वकपमा स्थान बनाउन त सकेन नै एकदिवसीय मान्यतालाई समेत जोखिममा पार्यो।
अहिले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल एकदिवसीय मान्यतालाई जोगाउने प्रयास मात्रै गरिरहेका छैनन्, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा लविइङसमेत गर्ने कोशिशमा छन्।
तर, यस्तो स्थिति खडा गर्नमा भने उनीहरुको भूमिका नै अहम् रह्यो। वाट्मोरलाई निकाल्दै गर्दा क्यानले उनीभन्दा प्रभावशाली प्रशिक्षक भित्र्याउने अनुमान गरिएको थियो। तरखर हेर्दा पनि उस्तै लाग्थ्यो।
तर, बढ्दै गएको राजनीतिक प्रभावले जो कोहीले क्यानसँगको हात मिलाउने दुश्प्रयाससमेत गरेनन्। जसका कारण क्यानको निर्विकल्प प्रशिक्षक बने पुबुदु दसानायके। तर, क्यानले भने खोजेको जस्तो प्रशिक्षक नपाउनुलाई आर्थिक संकटको सस्तो ढोङ पिट्दै गयो। जुन महंगो सावित भयो।
पुबुदु नेपालका लागि अपरिचित प्रशिक्षक भने थिएनन्। उनकै प्रशिक्षणमा नेपाल डिभिजन ५ देखि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा समेत पुगेको थियो। तर, पूर्वकप्तान पारस खड्कासँगको हिमचिमका कारण क्यानका पदाधिकारीसँगको टकरावले पुबुदु टोलीमा टिक्न सकेनन्।
करिब ६ वर्षपछि उनैले विद्रोह गरेका पदाधिकारीले सम्हालेको नेपाली क्रिकेटमा गरेको आगमन अस्वभाविक मात्रै थिएन धेरैले यसलाई शंकाको घेरामासमेत राखेका थिए। उनको नियुक्ति नै यस्तै बेलामा भएको थियो।
उनी नेपाल फर्किनुपूर्व नै उनका प्रिय पूर्वकप्तान पारसका विश्वासिला मित्र मानिने ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र कमलसिंह ऐरी क्यानविरुद्ध विद्रोहमा थिए। यता, क्यानले पनि उनीहरुलाई कारबाही गरेको अवस्था थियो। त्यसको विरोधमा एक दर्जनभन्दा खेलाडी आन्दोलनमा।
यस्तो बेलामा पुबुदुको आगमनलाई सहज अवस्थामा लिने स्थिति थिएन। न त उनी नेपालका लागि वाट्मोरजस्तो प्रभावकारी प्रशिक्षक नै थिए। नेपालको ‘लेभल’ सन् २०१४ को स्थितिभन्दा विल्कुलै फरक थियो। यता, क्रिकेट खेल्ने शैली पनि ‘डिफेन्सिभ’बाट आक्रामकमा परिवर्तन हुँदै थियो। उनको खेलाउने शैली मात्रै होइन, रणनीतिसमेत हालको नेपाली टोलीका लागि सुहाउँदो थिएन।
तर, क्यानसँग अर्को विकल्प पनि सायदै केही थिएन। उनले पनि टोलीको आवश्यकता र दरार मेटेर २०२२ को अन्त्यतिर अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई छनोट गराउने जिम्मेवारी लिए। तर, उक्त जिम्मेवारी भने पूरा सकेनन्।
ग्लोबल क्वालिफायरमा यूएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुन सकेन। त्यसपछि एकदिवसीय विश्वकपको ‘रोडम्याप’को रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालको प्रदर्शन सम्झनलायक गर्न सकेन। न त उनले टोलीमा देखिएको मतभेदपूर्ण वातावरण सहज बनाउन नै सके। जुन कुरा उनी संयम स्वीकार गर्छन्।
‘म पहिला आउँदा जितका लागि खेल्ने खेलाडी थिए, जित्नका लागि मरिमेट्थे,’ उनी भन्छन्,‘ तर, यसपटक अवस्था त्यस्तो थिएन। खेलाडी स–साना गुटमा बाँडिएका थिए। पहिलेका खेलाडीको सोचाइ र अहिलेका खेलाडीहरुको सोचाइ निकै फरक थियो। उनीहरुको ध्यान क्रिकेट खेल्नमा थिएन।’
प्रशिक्षकको काम नै खेलाडीलाई खेल्न प्रेरित गर्नुपर्ने हो। तर, पुबुदुको भने वात नै फरक छ। उनले दोस्रो कार्यकालका लागि नियुक्ति लिनुभन्दा अगाडि नै खेलाडीलाई एक ढिक्कामा बाँध्ने आश्वासन दिएका थिए।
तर, आश्वासन भने पत्याउने स्थिति थिएन। उनले यस अगाडि नै टोलीको नेतृत्व सम्हाल्दा पारसबाहेक अरुले कप्तानी गरे राजीनामा दिने धम्की दिँदै आएका थिए। जसका कारण टोलीमा उनले नै एक गुट जन्म दिए भने शरद भेषवाकरजस्ता घरेलु प्रतियोगितामा सफल सावित भएका खेलाडीले कप्तानी जिम्मेवारी सम्हाल्ने मौका पाएनन्।
उनले त्यसैबेला पारसलाई साथ नदिएको भए अहिले नेपाली क्रिकेट दुर्घटनाको सम्मुखमा पुग्ने थिएन। तर, पुबुदुले त्यसबेला क्यानलाई निलम्बनमा पार्न र पारसलाई नेतृत्वमा ल्याएर आजीवन प्रशिक्षक बनिरहन साथ दिन उचित ठाने। त्यसबेला गरेको गल्ती नै अहिले उनको लागि गलपासो मात्रै बनेन, यसले उनै पारससँगको बनिबनाउन सम्बन्धलाई समेत बिगार्यो।
क्यानसँगको टकरावपछि पारसका प्रिय मित्र ज्ञानेन्द्रबाट खोसिएको कप्तानी फर्काउँदै टोलीमा राखेको भए अहिलेको अवस्था सिर्जना नै हुने थिएन। तर, पुबुदुको हैसियत क्यानसँग सिधा लविइङ गर्नसक्ने खालको थिएन। उनलाई ल्याउँदा नै क्यानले यस्तै बाध्यकारी शर्तमा बाँधिदिएको थियो।
ज्ञानेन्द्रले घुमाउरो पारामा विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्तालाई नै मान्ने हो भने नेपाली क्रिकेटमा पुबुदुको भूमिका जिम्मेवारविहीन प्रशिक्षकको मात्रै थियो। पुबुदुलाई ल्याउँदा नै क्यानले खेलाडी छनोटमा उनको पूर्ण अधिकार नरहने र पारसपक्षका खेलाडीको पक्षरोपोषण गर्न नपाइने शर्त अगाडि सारेको थियो। जुन उनले सोचविचार नै नगरी सहमति जनाए।
त्यसबेला क्यानका पदाधिकारीलाई पनि आफू सही रहेको सावित गर्नुपर्ने परिस्थिति थियो। त्यसका साथै क्यानका पदाधिकारी मैदान बाहिर रहेका पारसको राष्ट्रिय टोलीमा रहेको दबदबा अन्त्य गर्ने यही सही समय ठान्थे। यसैका कारण पुबुदुलाई क्यानले हलचल गर्न दिएन भने स्थिति झनै बिगरिँदै गयो।
ग्लोबल क्वालिफायरमा राम्रो प्रदर्शन गरेका ज्ञानेन्द्रपक्षका खेलाडीले सोही लय लिग–२ मा देखाउन सकेनन्। त्यहीबेला कप्तान सन्दीप लामिछानेले पनि आफूलाई असफल बनाउन ज्ञानेन्द्रपक्षका खेलाडीले मुख्य भूमिका खेलिरहेको भाव झल्काउने ट्वीट गरे। उक्त ट्वीटले नेपाली क्रिकेटमा झन ‘ट्वीस्ट’ थप्यो भने गुट अन्त्य नभएको सन्देश प्रभाव गर्यो।
यसले क्यानको आलोचना झनै बढ्न थाल्यो। एकातिर पुबुदुले मध्यस्थता गर्न नसक्नु र अर्कोतर्फ क्यान आफैंले नियुक्त गरेको कप्तानले हात उठाउनुले नेपाली क्रिकेटको नतिजा के आउने हो भन्ने पहिला नै धेरैले अनुमान लगाइसकेका थिए।
भयो पनि त्यस्तै। कम्तिमा लिग–२ को शीर्ष ३ मा पुग्ने लक्ष्य बनाएको नेपाली टोलीले अमेरिका र स्कटल्यान्डको भ्रमण गर्दा केही खेल जित्न सक्ने अवस्थामा हुँदाहुँदै हार्यो भने सात महिनासम्म ब्याटिङमा सुधारसमेत देखिएन।
वाट्मोरको कार्यकालमा आक्रामक जस्तो देखिएको नेपाली ब्याटिङ पुबुदुको समयमा भने ‘डिफेन्सिभ’ जस्तो बन्न पुग्यो। जसले गर्दा टी–२० विश्वकप छनोटदेखि लिग–२ सम्म नेपाल निर्णायक क्षणमा चुक्न पुग्यो। गत फेब्रुअरीमा ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ५ मध्य ४ खेल जित्यो। तर, यूएईविरुद्ध जित्नैपर्ने सेमिफाइनल खेल हार्यो।
यता, नेपालको एकदिवसीय मान्यतासमेत संकटमा पर्यो। उनको प्रशिक्षणमा लिग–२ मा १२ खेलमा नेपालले ७ खेल पराजित भयो। ७ हारले नेपालको एकदिवसीय मान्यता नै संकटमा पुग्यो।
आईसीसीको यसअघिको एकदिवसीय मान्यताको आधिकारिकतालाई मान्ने हो भने हालसम्म शीर्ष पाँचमा पर्ने टोलीले मान्यता जोगाइराख्ने छ। नेपालले १६ खेल खेल्न बाँकी छ। शीर्ष तीनमा पर्न १२ खेल माथि जित्नुपर्ने हुन्छ।
अहिले आफैंले रोपेको गुटको बीउमा फल लाग्नु र ब्याटिङमा सुधार गर्न नसक्नुले एकदिवसीय मान्यता जोगाउन धेरै कठिन देखिन्छ। एकदिवसीय मान्यता गुम्नुअघि नै टोली छाड्नु उनको लागि सबैभन्दा उपयुक्त निर्णय हो।
यस्तै बेलामा यदि ज्ञानेन्द्रलाई पुन: टोलीमा फर्काउन र सन्दीपबाट कप्तानीको भूमिका खोस्न नसकेको भन्दै बाँकी खेलाडी विद्रोहमा उत्रिए भने झन नेपाली क्रिकेटले विकराल रुप लिने छ। यस्तो अवस्थामा उनको सम्बन्ध दुवैतिर बिग्रिने नै थियो भने प्रशिक्षणमा असफलताको कालो धब्बासमेत लाग्ने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।