काठमाडौं– श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज सोमबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
जसमध्ये आयोजनाको संरचना रहेको रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुंगको जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्काशन गरिने सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता बाँडफाँट गरिनेछ।
आयोजनाको प्रसारण लाईन पर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २५० कित्ता बाँडफाँट गरिने छ।
यसैगरी, रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर १ र ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नम्बर १, २ र ३ का बासिन्दाका लागि ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता बाँडफाँट गरिनेछ।
निष्काशन बन्द छिटोमा असार ६ गते हुनेछ भने ढिलोमा असार २१ गते हुनेछ। आईपीओमा नेपाल एसबीआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरुबाट आवेदन दिन सकिने बताइएको छ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम १० हजार कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।