काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासो सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन्।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरूको अभिमुखिकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो व्याप्त रहेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए।
श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगार दाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सेलर (श्रम) र श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री श्रेष्ठले बताए।
मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सेलर (श्रम) र श्रम सहचारीहरू विदेशी कानुन तथा आप्रवासी कामदारको मुद्दाबारे जानकार हुनुपर्ने उल्लेख गरे।
अभिमुखिकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कुटनीति, वैदेशिक रोजगार सम्बन्धी कानुनलगायतका विषयमा विज्ञले प्रशिक्षण दिएका थिए।
विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था छ। मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुबेदी तथा बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।