काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय चुलो अहिले देशको आवश्यकता भएको बताएका छन्। बजेटमा समावेश भएको इन्डक्सन चुलो अनुदान दिने कार्यक्रम चुनावलाई लक्षित गरेर नल्याइएको पनि उनको भनाइ छ।
आगामी आर्थिक वर्ष २०७९/०८० माथिको छलफलका क्रममा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले इन्डक्स चुलो वितरण गर्ने कार्यक्रम चुनाव लक्षित वा पार्टीका मानिसलाई फाइदा पुर्याउन ल्याइएको हो कि भनेर शंका नगर्न आग्रह गरे। उनले यो कार्यक्रम देशलाई ग्याँसको परनिर्भरता घटाउनका लागि ल्याइएको दाबी गरे।
इन्डक्सन चुलो वितरण गर्ने कार्यक्रमप्रति प्रतिपक्ष दल नेकपा एमालेका सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले प्रतिपक्षी दललाई पनि सँगै लगेर चुलो बाँड्न सकिने बताए।
‘विद्युतीय चुलो अहिले देशको आवश्यकता हो। प्रतिपक्षी दल (नेकपा एमाले)का साथीहरुलाई शंका लागेको हो भने सँगै लगेर बाँड्न सकिन्छ,’ मन्त्री शर्माले भने।
उनले यो योजना सम्भव भएर नै सुरुवात गर्न लागेको दाबी गरे । नेपाल विद्युत् प्राधिकरणलाई सोधेर नै विद्युतीय चुलो वितरण गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको मन्त्री शर्माको भनाइ छ।
‘अहिलेको संरचनाले २५ प्रतिशत धान्ने भनेकाले यत्ति मात्र बाँडौ अनि विस्तारै क्षमता वढाउँदै बाड्ने कुरा बजेटले गरेको हो,’ उनले भने, ‘योसँग भोट साट्ने कुरा छैन। ढुक्क भए हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।