काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लाग्नेक्रमले निरन्तरता पाएको छ। साताको दोस्रो कारोबार दिन पनि घटेको सेयर बजार साताको पहिलो कारोबार दिन पनि घटेको थियो।
मंगलबार सेयर बजार मापक परिसूचक नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा ओर्लिएको छ। मंगलबार समग्र बजार १.६३ प्रतिशतले घटेको छ। मंगलबार २२९ कम्पनीको ३७ लाख ६९ हजार ८ सय ३२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको कारोबार भएको हो।
बजार घटेको दिन म्युचुअल फण्ड ०.०७ अंकले बढे पनि बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २३६.४२ अंकले घटेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.२३ प्रतिशतले बढेको छ भने सोमबारजस्तै नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। एनआईबीएलका लगानीकर्ताहरुले आज ९.९८ प्रतिशतले घाटा व्यहोरेका छन्।
आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ। एनआईसी एशियाको ५ करोड ३७ लाख ९८ हजार ८ सय ७० रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।
साताको पहिलो कारोबार दिन सोमबार बजार ४५.०९ अंकले घट्दा एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ रुपियाँ बराबरको कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।